साम्राज्ञी, स्वस्तिमा र ओसिनसँग किन रुष्ट बनिन् जसीता ?

प्रश्न उठाएपछि साम्राज्ञीले गरिन् जसीतालाई ब्लक
जनपत्र
१२ असार २०८१, मंगलवार ११:१६

अभिनेत्री जसीता गुरुङले राष्ट्रिय टेलिभिजनमा आफ्नो व्यक्तिगत विषय उठाएको भन्दै गम्भीर आपत्ति व्यक्त गरेकी छन् । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ का दौरान अन्य अभिनेत्रीहरूले जसीताको प्रेम जीवनको बारे कुरा गरेपछि जसीता क्रुद्ध बनेकी हुन् ।

कार्यक्रमको नियमित प्रस्तोता सुरज सिंह ठकुरीले कार्यक्रम छाडेपछि अहिले ओसिन सिटौला कार्यक्रमको नयाँ प्रस्तोता भएर आएकी छन् । तर, आफ्नो पहिलो एपिसोडमा नै ओसिन विवादमा तानिएकी हुन् ।

कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आमन्त्रण गरिएको थियो । कार्यक्रमकोको एक सेग्मेन्टमा दुई पाहुनालाई ओसिनले विभिन्न प्रश्नको उत्तर दिन लगाउँदै खेल खेलाउँछिन् । यस क्रममा उनले जसीताको प्रेमीहरूको बारेमा प्रश्न गर्छिन् । त्यसपछि दुई अभिनेत्रीले उनको प्रेमीहरूको नाम खुलाउँछिन् ।

यस प्रश्नको उत्तरले विवाद सिर्जना गर्नेमा दुवै अभिनेत्री सचेत पनि देखिन्छन् । प्रश्नको उत्तर दिएपछि साम्राज्ञीले आफूलाई ‘विवाद मनपर्ने’ समेत बताउँछिन् ।

यसबारे जसीताले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै अरूको व्यक्तिगत जीवनको बारेमा कुरा गरेकोमा गहिरो दुःख व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘मैले यसबारे बोल्नुपर्ने भयो । मैले कहिल्यै बुझिनँ, मानिसहरूले राष्ट्रिय टेलिभिजनमा किन कसैको व्यक्तिगत जीवनको बारेमा कुरा गर्नुपर्छ, जबकि उनीहरूलाई व्यक्तिगत रूपमा पनि थाहा हुँदैन।’

‘यो अन्तर्वार्ता हेरेपछि म यी व्यक्तिहरूबाट एकदमै दुःखी छु। के हामी साँच्चै महिलाले अर्को महिलालाई होच्याउनेविरुद्धमा छौँ ? तीमध्ये कसैसँग मेरो व्यक्तिगत समस्या छैन। सुरुदेखि नै, मैले उनीहरूलाई अभिनेता र होस्टको रूपमा उच्च सम्मान र प्रशंसामा राखेको छु। तपाईंले भन्ने र गर्ने कामले कतिको जीवन प्रभावित हुनेछ भन्ने पनि बुझ्नुहुन्छ?’ उनले प्रश्न गरेकी छन् ।

‘के तपाईंलाई थाहा छ, मैले मेरो विगतमा के भोगेको छु? मेरो परिवारले तपाईंको अन्तर्वार्ता र समाचार हेरिरहेको छ जस्तो लाग्दैन? महिला भएर समाजका लागि कस्तो उदाहरण बसाल्नुभएको छ ? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्ने र चर्चा गर्ने कारण के हो?,’ जसीताले तीन जनामाथि प्रश्न तेर्स्याएकी छन् ।

आफूमाथि प्रश्न उठेपछि साम्राज्ञीले भने जसीतालाई सामाजिक सञ्जालमा ब्लक नै गरेकी छन् । जसीताको पक्षमा थुप्रै कलाकारहरू उभिएका छन् । गायिका त्रिशाला गुरुङ, अभिनेता अनमोल केसी, कविता नेपालीलगायतले उनको पोस्टमा कमेन्ट गर्दै उनीप्रति समर्थन जनाएका छन् ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*