स्कुलबाट रोयल्टी उठाउने विषय के हो ? नेपथ्यले जनायो असहमति

जनपत्र
८ असार २०८१, शुक्रबार १४:०७

बिहीबार दिउँसो लोकरक ब्यान्ड नेपथ्यको व्यवस्थापन हेर्ने नेपालयका किरणकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमा एक पोस्ट गरे ।

जसमा लेखिएको थियो- ‘यो के नाटक हो ? स्कुलहरुमा शैक्षिक प्रयोजनका लागि प्रयोग गरेको हुने गीतको प्रयोग गरेवापत ‘रोयल्टी’ उठाउने अधिकार कसले यो एजेन्टलाई दियो ? अरुको बारे म बोल्न सक्दिन तर यिनलाई नेपथ्यको गीतवापत एक पैसा पनि उठाउने अख्तियारी छैन । स्कुलहरुले मज्जाले प्रयोग गरे हुन्छ, नाचे हुन्छ ।’

शुक्रबार बिहान नेपथ्यको आधिकारिक पेजमा किरणकृष्णको उक्त पोस्ट सेयर गर्दै अर्को पोस्ट आयो, ‘हाम्रा गीतमा विद्यार्थीहरु नाचगान गर्न हामीलाई रोयल्टी तिर्नुपर्दैन ।’

पोस्टसँगै नेपथ्यले संगीत रोयल्टी संकलन समाज र शिव म्युजिक प्रालि नामको कम्पनीका दुई छुट्टाछुट्टै विज्ञप्ति पनि सेयर गरेको छ । यसलाई नेपथ्यका मुख्य गायक अमृत गुरुङले पनि सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

विद्यालयमा बज्ने गीतबाट ‘रोयल्टी’ उठाउने र त्यसका लागि रोयल्टी संकलन समाजले शिव म्युजिक प्रालिलाई अख्तियारी दिएको विषयप्रति असहमति जनाउँदै यी पोस्ट आएको कुरा बुझ्न गाह्रो छैन ।

गत वैशाख ७ मा संगीत रोयल्टी संकलन समाज नेपालले शिव म्युजिक प्रालिलाई गीत-संगीतको सार्वजनिक रुपमा प्रयोग गर्ने प्रयोगकर्ताहरुसँग संगीत रोयल्टी संकलन गर्न एजेन्सी नियुक्त गरेको थियो । प्रतिलिपि अधिकारी नियामावली २०६१ को नियम १० ‘ग’ को अधिकार प्रयोग गरी शिव म्युजिकलाई एजेन्सीको रुपमा नियुक्त गरेको समाजले उल्लेख गरेको छ ।

त्यसपछि गत जेठ ३२ गते शिव म्युजिक प्रालिले स्मल हेभन बोर्डिङ स्कुललाई गीत-संगीतको प्रयोग गर्नुपूर्व रोयल्टी तिरेर गीत-संगीतको इजाजतपत्र लिएर मात्रै स्कुलमा प्रयोग गर्न भन्दै पत्र काट्यो ।

त्यो पत्र सार्वजनिक भएसँगै अहिले सांगीतिक क्षेत्रमा यसबारे बहस सिर्जना भइरहेको छ ।

संगीत रोयल्टी संकलन समाजका महासचिव बद्री पाण्डेले भने स्कुलमा सिकाइका लागि प्रयोग हुने गीत-संगीतको नभई कन्सर्ट लगायतका कार्यक्रममा बज्ने गीत-संगीतको मात्रै रोयल्टी उठाइने गरिएको बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले स्कुलबाट आफ्नो गीत रोयल्टी तिर्नु नपर्ने भन्ने नेपथ्य ब्यान्डको अधिकारको कुरा भएको बताए ।

‘स्कुलमा सिकाइका क्रममा होइन, अरु सांस्कृतिक कार्यक्रममा गीत-संगीत प्रयोगवापतको रोयल्टी उठाउने हामीले कुरा गरेका हौं । त्यसका लागि हामीले हाम्रो नियमावलीअनुसार शिव म्युजिक प्रालिलाई एजेन्सी नियुक्त गरेका हौं,’ उनले भने,’नेपथ्य लगायत कोही पनि सर्जक, कलाकार, ब्यान्डले आफ्ना गीत प्रयोगवापत रोयल्टी तिर्नुपर्दैन भनेर भन्नुभयो भने त्यो उहाँहरुको अधिकारको कुरा हो ।’

पाण्डेले स्कुलले संगीत वा नृत्य सिकाउने कार्यबाहेक अरु कुरामा गीत-संगीत प्रयोग नगर्ने भनेर कबोल गरेमा पनि रोयल्टी तिर्नु नपर्ने व्यवस्था रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*