मकवानपुरकोे हात्तिसुडेमा निर्माणाधिन प्रहरी चौकी भवनको अनुगमन

प्रदेश सरकारसंग अलमलिने समय छैन- मन्त्री जम्कट्टेल
रिपेश दाहाल
७ आश्विन २०७६, मंगलवार १६:२४

वकैयाँ । मकवानपुरको वकैयाँ गाउँपालिकाको हात्तिसुडेमा निर्माणाधिन प्रहरी चौकी भवनको आज अनुगमन गरिएको छ । प्रदेश–३ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा निर्माण भएको प्रहरी चौकी भवनको आज अनुगमन गरिएको हो । प्रदेश सरकारले बिभीन्न जिल्लामा निर्माण गर्न लागेका भवन मध्य हात्तिसुढेको भवनको आज अनुगमन गरिएको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जम्कट्टेल सहित प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सहितको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा मन्त्री जम्कट्टेलले समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । प्रदेश सरकार जति सक्दो चाडै काम सम्पन्न गर्न चाहान्छ ,सरकारको उदेश्य अनुसार काम सक्न मेरो अनुरोध छ उहाँले भन्नुभयो ।

समस्याहरु आए समाधान गर्न लाग्ने भन्दै उहाँले टहरोमा बसेर नागरिकहरुको सेवा गर्ने प्रहरी कर्मचारीहरुको दुख देखेर नै प्रदेश सरकारले प्रहरी चौकी भवन निर्माण गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरुको रकम रोक्का गर्ने तथा आगामी योजनाहरुमा सहभागी नगराउने बताउनुभयो । मन्त्री जम्कट्टेलले आज मकवानपुरको बकैया गाउँपालिका , हात्तीसुडे स्थित २ करोड ५ लाख लगानीमा निर्माणाधीन प्रहरी चौकी भवन , हेटौंडा १५ स्थित नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको ४ करोड ३९ लाखको लागतमा निर्माणधिन महिला तथा पुरुष प्रहरी ब्यारेक भवन , ३ करोड ४६ लाख को लागतमा निर्माणाधिन हेटौंडा ११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन र भीमफेदी कारागारमा ४० लाखको लगानीमा निर्माणाधिन महिला बन्दी गृहको अनुगमनपछि मन्त्री जम्कट्टेलले काम गराई सन्तोष जनक नभएको भन्दै प्रदेश ३ सरकारको गति अनुसार काम गर्न निर्माण कम्पनीहरु , सरकारी इन्जीनियर तथा प्रहरी चौकी भवन निर्माणको जिम्मा लिएका प्रदेश ३ का प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

“प्रदेश सरकार जति सक्दो चाडै काम सम्पन्न गर्न चाहान्छ ,सरकारको उदेश्य अनुसार काम सक्न मेरो अनुरोध छ ” उहाँ ले भन्नुभयो । अनुगमनका क्रममा आन्तरिक मामिला मन्त्रालयका सचीव विनोद प्रकाश सिंहले प्रदेश सरकार छिटोभन्दा छिटो काम सम्पन्न गर्न लागिपरिरहेकोले सोही अनुसार कार्य सम्पादन गरिने बताउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले प्रदेश सरकारले पानी चुहिने घरमा बसेर सेवा गर्ने प्रहरीलाई भवन बनाइ दिन लागेकोले बेलैमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई अनुरोध गर्नुभयो । प्रदेश ३ का प्रहरी प्रमुख डिआइजी शेर बहादुर बस्नेतले प्रदेश सरकारले प्रदेशभर ४८ वटा आधुनिक प्रहरी चौकी भवनहरु निर्माण प्रारम्भ गरेर प्रहरीहरुको आत्मवल बृद्धि गराएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकेश कुमार सिहले भवन निर्माण पछि प्रहरीहरुलाई कार्यसम्पादन गर्न सहज हुने धारणा राख्नुभयो ।

अनुगमनमा मन्त्रालयका सचीव, प्रदेश ३ का प्रहरी प्रमुख डिआइजी शेर बहादुर बस्नेत, गाउपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकेश कुमार सिह लगायतको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*