९ घण्टाको उडानका बाबजुद यात्रु जहाँबाट उडेका थिए, त्यहीँ ओर्लिए

९ घण्टा लामो उडानपछि विमान अवतरण गर्दा तपाईंले आफूलाई जहाँको त्यहीँ पाउनु भयो भने कस्तो लाग्छ ? ब्रिटिश एयरवेजका यात्रीले यही नियति झेल्नु परेको छ ।
सोमबार बिहान स्थानीय समयानुसार ९ः२७ मा लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको होस्टन, टेक्सासका लागि उडेको विमान करिब १० घण्टाको यात्रापछि गन्तव्यमा अवतरण गर्नुपर्ने थियो । विमानले ९ घण्टाभन्दा बढी समय आकाशमै बितायो तर अवतरण भने जहाँबाट उडान भरेको थियो, त्यही विमानस्थलमा भयो । यस क्रममा विमानले ७ हजार ७७९ किलोमिटर यात्रासमेत गरेको थियो ।
ब्रिटिश एयरले यसबारे जानकारी दिँदै केही प्राविधिक कठिनाइका कारण विमानलाई आधा बाटोबाटै लण्डन फर्काउनु परेको जनाएको छ । उसले यात्रुमा पर्न गएको असुविधाप्रति माफी मागेको छ । एयरलाइन्सले उक्त विमानका यात्रीका लागि अर्को उडान उपलब्ध गराएको पनि जनाएको छ ।