फिल्म थुपार्दै आँचल, तर ‘राजमहल’ अन्योल

जनपत्र
२८ जेष्ठ २०८१, सोमबार ०५:४९

नेपाली फिल्म क्षेत्रमा विवाहपछि अभिनेत्रीको करिअर खस्किन्छ भन्ने भाष्य बनेको छ । कुनै समय यो नदेखिएको होइन । तर, नयाँ छिमलका अभिनेत्रीहरुले यो भाष्यलाई तोडेका छन् । विवाहपछि करिअरको उँचाइमा पुगेका अहिले धेरै अभिनेत्री छन् । आँचल शर्मा पनि यही भीडमा अट्छिन् । विवाहपछि केही समय सुस्ताएझैँ देखिएकी उनी यतिबेला फिल्ममा ‘डिमान्डेड’ बनिरहेकी छन् ।

आँचलको ‘लाइनअप’ हेर्ने हो भने अभिनेत्रीहरुमध्ये सबैभन्दा बढी फिल्म नै उनीसँग हुनसक्छ । गत वर्षदेखि लगातार फिल्म साइन गरिरहेकी उनले अघिल्लो वर्ष ‘डिग्री माइला’ र ‘एक मुठी बादल’मा काम गरेकी थिइन् । यसमध्ये ‘डिग्री माइला’ गत चैतमा प्रदर्शन भइसकेको छ । यो फिल्म व्यावसायिक रुपमा सफल हुँदा उनलाई ‘नाइँ नभन्नू ल ६’ले दिएको घाउमा मलहमपट्टीको काम गर्‍यो ।

गत हप्ता मात्र ‘वर एण्ड बधु’को छायांकन सकाएकी उनले गत वर्ष ‘पिताम्बर’, ‘दुःखी आत्मा’ र ‘राजमहल’ सम्झौता गरेकी थिइन् । यसैबीच, उनले यसै साता आफ्नो ‘लाइनअप’मा अर्को फिल्म थपिन् । उनले अभिनेता अनमोल केसीसँग ‘जेरी अन टप’मा काम गर्न लागेकी हुन् । यसमा उनी सहायक अभिनेत्री रहेको गाइँगुइँ चर्चा छ । यसरी हेर्दा अब उनले काम गर्नुपर्ने फिल्म मात्र चारवटा छ ।

यसमध्ये ‘राजमहल’को निर्माण अन्योल छ । ‘जेरी अन टप’ भने आँचलले असारमा गर्नेछिन् । ‘पिताम्बर’ भदौबाट मात्र सुरु हुनेछ । यसपछि ‘दुःखी आत्मा’ गर्ने उनको तयारी छ । र, यी तीन फिल्मसहित ‘वर एण्ड बधु’ यस वर्ष नै रिलिज हुने सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*