विश्व वातावरण दिवसः हाम्रो भूमि, हाम्रो भविष्य

रघुराम पराजुली
२३ जेष्ठ २०८१, बुधबार १९:५९

आज जुन ५ गते विश्व वातावरण दिवस मनाइँदैछ । यो वर्षको नारा हाम्रो भूमि, हाम्रो भविष्य रहेको छ । हाम्रो भूमि सुरक्षित भए मात्र हाम्रो भविष्य सुरक्षित रहन्छ । हामीले गर्ने गतिविधिहरु वातावरणमैत्री हुनु अपरिहार्य छ । हामीले वातावरणलाई सफा र स्वच्छ राख्न सके हाम्रो सोचमा पनि सकारात्मकता आउँदछ र वातावरणले पनि न्याय पाउनेछ । प्राकृतिक वातावरण जति बढी स्वस्थ बनाउन सक्छौं, उति नै बढी पृथ्वीको अस्तित्व सुनिश्चित गर्न सक्दछौं ।

वातावरण प्रतिकूल कामकारबाही बढाउँदै जानाले जटिल भन्दा जटिल समस्याहरु देखापरेका छन् । विभिन्न खालका संक्रामक तथा असाध्य रोगले नराम्रोसँग गाँज्न थालेको छ तर यी सबै समस्याको मुख्य कारण पनि मानिस हामी स्वयं नै हौँ । प्रकृति र वातावरणलाई स्वच्छ राख्ने कर्तव्य पनि हामी मानिसको नै हो । आजको दिन भनेको वातावरण स्वच्छ र स्वस्थ राख्न प्रण गर्ने दिन हो । स्वच्छ, सफा र शुद्ध प्राकृतिक वातावरणले मानिसको सोच, विचार, स्वास्थ्य तथा मनमस्तिस्कलाई शुद्ध राख्न सहयोग गर्दछ । वातावरणको संरक्षण गर्नु हामी सबैको साझा दायीत्व हो ।

पृथ्वी जोगिए मात्र मानिस जोगिन सक्छै भन्ने कुरा सही तवरले मनन हुनु अपरिहार्य छ । मानिसले नै यो धर्तीलाई मरुभूमिकरण हुनबाट बचाउन सक्छ, क्षयीकरण हुनबाट जोगाउन सक्छ अनि धर्तीलाई सदैव शान्त र मनमोहक बनाउन सक्छ । मानिसका स्वभावहरु वातावरणमैत्री बन्नु आवश्यक छ । वातावरणलाई आफ्नो कारणले कुनै आघात नपुगोस् भनेर हेक्का गर्नु जरुरी छ । जीवहरुको लागि आवश्यक खाना, पानी तथा विकास निर्माणका लागि आवश्यक कच्चा पदार्थ जमिनबाटै प्राप्त गरिरहेका छौं । तर हामीले हाम्रो भूमि बस्न अयोग्य बनाउँदै गइरहेकामा कत्ति पनि संवेदनशील छैनौं ।

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न संयुक्त राष्ट्रसंघीय पृथ्वी सम्मेलनबाट पारित जैविक विविधता महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ । उच्च तापक्रम, बेमौसमी वर्षा, अति वर्षा तथा खडेरी जस्ता घटनाक्रमहरुबाट उत्पादन तथा उत्पादकत्वमा ह्रास आउनाले रोजगारी, आयआर्जन तथा जीविकोपार्जनमा असर गरेको छ । बढ्दो तापक्रमको कारण मानव समुदाय र समग्र पारिस्थितिकीय प्रणालीबीचको सन्तुलनमा खलल आउने जोखिम बढेको छ ।

संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने तथा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने उल्लेख छ । धारा ५१ ९छ० को प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्धन र उपयोग सम्बन्धी नीतिमा जनसाधारणमा वातावरणीय स्वच्छता सम्बन्धी चेतना बढाई औद्योगिक एवं भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, संवर्धन र दिगो उपयोग गर्ने, वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वन क्षेत्र कायम राख्ने जस्ता विषयहरु समावेश भएका छन् । आर्थिक वर्ष २०८१।८२ को बजेट वक्तव्यमा वायु प्रदुषण नियन्त्रणसम्बन्धी मापदण्डलाई कडाईका साथ पालना गरिने तथा वायु गुणस्तर मापन केन्द्रको प्रभावकारी सञ्चालन गरी प्राप्त सूचनालाई वायु प्रदुषण नियन्त्रित तथा नियमनका उपायसँग आवद्ध गरिने उल्लेख छ ।

वातावरण प्रदूषणको कारण वातावरणीय असन्तुलनहरु पैदा भइरहेका छन् । फोहरमैला, रसायन, ताप, ध्वनी, विद्युत, विद्युत चुम्बकीय तरङ्ग वा रेडियोधर्मी विकिरणका कारण वातावरणमा हानि पुर्याउने खालका कार्यहरुबाट वातावरण प्रदूषण बढिरहेको छ । वातावरणको हित विपरितका क्रियाकलापहरुबाट रोग तथा महामारीको जोखिम बढिरहेको छ । वन विनाश, वासस्थान अतिक्रमण, डढेलो, भू–क्षय, बाढी, पहिरो, अम्लिय वर्षा जस्ता कारणहरुले प्राकृतिक वातावरणमा असन्तुलन आइरहेका छन् । उद्योग, कलकारखानाको वृद्धि, बढ्दो जनसंख्या तथा अव्यवस्थित शहरीकरणका कारण वातावरणमा असरहरु देखा परिरहेका छन् । वातावरणीय पक्षहरुलाई महत्व दिएर कामकारबाही अगाडि बढाउनु आवश्यक छ । हरेक विकास निर्माणका कामहरुमा वातावरणीय दिगोपना र संवेदनशीलताको विश्लेषण हुन सक्यो भने मात्र हाम्रा अपार स्रोत साधनहरु भावी पुस्ताहरुको लागि सुरक्षित रहनेछन् । विकासका योजना परियोजनाको वातावरणीय लेखाजोखा सही ढंगबाट गरिनुपर्दछ । विकास निर्माणका क्रियाकलापहरु सञ्चालन गर्दा यसबाट प्राप्त हुने आर्थिक एवं भौतिक लाभको विश्लेषण गरिंदा कतिपय विकासका गतिविधिहरु सिधै विनासमा परिणत हुने क्रममा छन् । यस्ता कार्यहरु वातावरणमैत्री हुनुपर्दछ ।

विकसित वातावरणसँग सम्बन्धित मुद्दाहरुसँग जुध्न संघ, प्रदेश तथा स्थानीय गरी तीनै तहका सरकारहरुकाबीच आपसी सघन समन्वय तथा सहकार्य अपरिहार्य छ । प्राकृतिक सन्तुलन कायम गर्नको लागि पर्यावरणको दिगो संरक्षण हुनु जरुरी छ । तब मात्र हाम्रो भविष्य सुरक्षित रहन सक्छ । वन क्षेत्रमा हुने अतिक्रमण, भूक्षय, शहरीकरण तथा प्राकृतिक स्रोत साधनहरुको अत्याधिक दोहनबाट सिर्जित नकारात्मक प्रभावहरुको कारण जलवायु परिवर्तनका असरहरु प्रगाड बन्दै गइरहेका छन् ।

स्वस्थ वातावरण भएन भने साधारण जिवनयापन नै असहज बन्दछ । हरेक व्यक्ति, परिवार, समाज वातावरण संरक्षण गर्नमा सजग हुनुपर्दछ । स्कुल तथा शैक्षिक संस्थाहरुमा वन वनस्पतिको महत्व तथा वातावरण संरक्षण बारेमा सचेतनामुलक पाठ्यक्रम लागु गर्नुपर्दछ । सामुदायिक संस्था, गैरसरकारी संघसंस्था, नागरिक समाज सबैले हाम्रो भूमी जोगाउन उचित पहलकदमी लिनुपर्दछ । अनि मात्र हाम्रो भविष्य सुरक्षित बन्न सक्दछ । यसका अलावा वायुप्रदुषण, पानी र माटोको प्रदुषण, जलवायु परिवर्तन, वातावरणीय विनाश तथा मानव सिर्जित विकराल वातावरणीय समस्याहरुसँग एकाकार भएर सामना गर्नुको अब विकल्प छैन । होइन भने मानव जाति मात्र होइन कि सबै जीव जिवात्मा र समग्र पृथ्वीको अस्तित्व नै धरापमा पर्न सक्छ । त्यस्तो हामी असुरक्षित मात्र होइन कि अस्तित्वविहिन हुनेछौं ।

लेखक वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका वरिष्ठ वैज्ञानिक अधिकृत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*