डट, डर र दबाबले हारेको नेपाल
अमेरिका । १० वर्षपछि आईसीसी टी-२० विश्वकपमा फर्किएको नेपालले नेदरल्यान्ड्सविरुद्ध सानदार प्रदर्शन गर्ने आशा थियो । तर, विदेशी भूमिमा नेपालको ब्याटिङ विगतमा जस्तै कमजोर रह्यो ।
आईसीसी टी-२० विश्वकप २०२४ मा ग्राण्ड प्रेरी क्रिकेट रंगशाला अमेरिकामा भए पनि रौनक र झल्को टीयु रंगशालाको भन्दा कम थिएन । नेपालको जर्सी र झण्डासहितका समर्थकले रंगशालाभित्र र बाहिरको परिसर भरीभराउ थियो । रंगशालामा डच समर्थक भेट्नै मुस्किल थियो ।
बिहान वर्षाका कारण निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पायो । राष्ट्रिय गान बज्दा खेलाडीमात्रै होइन पूरा रंगशाला, देश तथा विदेशमा नेपालीको एउटा गर्व र भावुक क्षण थियो । दशक लामो प्रतीक्षाले विश्वकपको महत्व अझ फरक थियो ।
निराश समर्थक
पछिल्लो समय लगातार कमजोर प्रदर्शन गर्दै आएका ओपनर कुशल भुर्तेल र आसिफ शेखले टोलीले देखाएको विश्वासलाई विश्वकपमा पनि निराश बनाए ।
तीव्र गतिका बलर भिभियन किंग्माले कुशललाई पहिलो बल डट र दोस्रोमा एक रन दिंदै सुरुवात गरे । त्यसपछि आसिफले लगातार लेन्थका तीन बलमा रन बटुल्न सकेनन् । अन्तिम बलमा लङअफमा चौका हाने ।






