‘होस्टेल ३’ मा पदम, रिहान र सिम्रन अनुबन्ध, कसको भूमिका के ?

जनपत्र
२३ जेष्ठ २०८१, बुधबार ०५:५५

निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’मा थप तीन कलाकार अनुबन्ध भएका छन् । रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त फिल्मको शीर्ष भूमिकाका लागि अनुबन्ध भएका निर्माण पक्षले जानकारी दिएको छ । 

यस फिल्मका लागि टिकटकबाट चर्चित बनेर गायक बनेका पारस बम ‘कुल बोई’ मुख्य भूमिकाकै लागि अनुबन्ध भइसकेका छन् । प्रमुख भूमिकाका लागि थप दुई कलाकारको आवश्यक रहेको निर्देशक सशान कँडेलको भनाइ छ । 

फिल्ममा भित्रिएका तीन जनाको यो डेब्यु फिल्म रहनेछ । भुटानी नागरिक रिहान ‘भ्वाइस अफ नेपाल’ को चौथो संस्करणको टप १० फाइनलिस्ट हुन् । उनले फिल्ममा ‘मानव’ नामको पात्रको भूमिका निर्वाह गर्ने बुझिएको छ । 

रिहानले निर्वाह गर्न लागेको पात्रका लागि निर्माण पक्षले स्थापित नेपाली कलाकारसँग छलफल गरेको थियो । नयाँ कलाकारको आवश्यकता देखेपछि रिहानालाई अनुबन्ध गरिएको निर्देशक कँडेलले बताए । 

उनले भने, ‘नेपाली चलचित्रमा युवा कलाकारको कमी महसुस भएपछि कोही कसैलाई त ल्याउनैपर्छ भन्ने लाग्यो । अर्को कुरा नयाँ कलाकार जन्माउने फिल्म भनेर होस्टेलका शृंखला चिनिन्छन् । यसलाई निरन्तरता दिनु पनि हाम्रो बाध्यता नै हो ।’ 

अर्को कलाकार पदम गिरी सिक्किमका नागरिक हुन् । उनी युट्युबमा कमेडी भिडियो बनाएर युवा पुस्तामा चिनिएका व्यक्ति हुन् । यो फिल्ममा स्क्रिप्ट चित्त बुझेकाले अभिनयका लागि तयार भएको उनी बताउँछन् । 

उनी भन्छन्, ‘यसअघि पनि केही नेपाली फिल्मको स्क्रिप्ट पढेको तर चित्त नबुझेपछि काम नगरेको थिइनँ । यसको कथा नै मन पर्‍यो ।’ 

पदमले निर्वाह गर्ने पात्रको नाम ‘जिते’ रहेको बुझिएको छ । मंगोलियन समुदायको ‘अर्ग्यानिक’ र ‘लाउड’ पात्रको आवश्यक परेकाले पदमलाई फिल्ममा लिइएको निर्देशक कँडेल बताउँछन् । 

उनी स्पष्ट पार्छन्, ‘देशभरबाट कलेज पढ्न काठमाडौं आएर होस्टेलमा बस्दा विभिन्न समुदायका विद्यार्थीहरूको जमघट हुने र त्यहाँ आ-आफ्नै कथाहरू रहने भएकाले हामीले सबै समुदायबाट पात्र छनोट गरेका छौं ।’

चलचित्रमा सशक्त भूमिकामा अनुबन्ध भएकी सिम्रनसँग केही म्युजिक भिडिओ र एक दर्जन विज्ञापनमा काम गरेको अनुभव छ । उनले नेपाल र भारतमा अभिनय प्रशिक्षणसमेत लिएकी छन् । नयाँ र सशक्त अभिनय गर्न सक्ने नायिकाको जरुरत सिम्रनले पूर्ति गर्नेमा निर्देशक कँडेल आशावादी छन् । 

यो वर्षको अन्त्यमा ‘होस्टेल-३’ प्रदर्शनमा ल्याउने निर्माण पक्षको योजना छ ।  यस फिल्ममा माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। 

यो फिल्म सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*