टी–२० विश्वकप क्रिकेट : अफगानिस्तानले यूगान्डालाई एक सय २५ रनले हरायो
आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । गुयान्डाको प्रोभिडेन्स मैदानमा आज बिहान भएको खेलमा अफगानिस्तानले यूगान्डालाई एक सय २५ रनको फराकिलो अन्तरले हराएको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको यूगान्डा १६ ओभरमा अलआउट भयो । उसका रोविन्सन ओवुयाले १४ र रियाजत अली शाहले ११ रन बनाउनुबाहेक अरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका फजहल हक फारुकीले ५ विकेट लिए । अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । उसका रहमान गुर्वाजले ७६ र इब्राहिम जद्रानले ७० रन बनाए ।
टी–२० विश्वकप क्रिकेटमा आज बेलुका दुई खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ८ बजे इंग्ल्यान्ड र स्कटल्याण्ड तथा राति सवा ९ बजे नेपाल र नेदरल्यान्डस् खेल्दैछन् । इंग्ल्यान्ड साविक उपाधि विजेता टोली हो ।







