‘गाउँ आएको बाटो’मा दयाहाङलाई लिन डराएका थिए नवीन सुब्बा

जनपत्र
१२ जेष्ठ २०८१, शनिबार १२:४५

केही समयअघि आफ्नो एउटा लेखमा ‘नुमाफुङ’ निर्देशक नवीन सुब्बाले भनेका थिए, ‘आदिवासी जनजातिका दयाहाङजस्ता केही अनुहारहरु नेपाली फिल्ममा स्थापित भए पनि उनीहरु राजेश हमाल परम्पराका पुनरावृत्ति मात्र हुन् ।’ उनको आशय थियो, नेपाली फिल्ममा अनुहारको विविधता थपिए पनि दयाहाङले हमालझैँ गुणस्तरभन्दा संख्यात्मक अभिनयमा जोड दिँदा आफ्नो लय गुमाए ।

तर, उनै दयाहाङलाई लिएर निर्देशक सुब्बाले फिल्म ‘गाउँ आएको बाटो’ बनाएका छन्, जुन यही जेठ २५ गतेबाट प्रदर्शन हुँदैछ । स्क्रिप्ट लेखनकै समयमा फिल्मको ‘माइला’ पात्रका लागि एकजना ‘नन् एक्टर’सँग कुरा गरिएको थियो । तर, ती कलाकारले चरित्र निर्माणलाई हलुका रुपमा लिएपछि कास्टिङ डिरेक्टर सृजना सुब्बाले त्यो पात्रमा दयाहाङबाहेक अरुले न्याय गर्न सक्ने देखिनन् ।

तर, निर्देशक सुब्बा दयाहाङलाई लिन डराएका थिए । उनलाई त्यो डर दयाहाङ ‘स्टार’ भएकोमा थियो । बिहीबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने- ‘दयाहाङलाई ‘कास्ट’ गर्न मलाई सुरुमा डर लागेको थियो । किनभने, ‘स्टार ट्रेन्डट्रोम’ हामीले देखिरहेको र भोगिरहेकै कुरा हो । दयाहाङ ठूलो ‘स्टार’ भइसकेका छन् । यसैले फिल्ममा उहाँलाई लिन मलाई डर लागेको हो ।’

खासमा उनी फिल्ममा ‘नन् एक्टर’ लिने सोचमा थिए । तर, दयाहाङले पनि काम गर्ने इच्छा देखाएको सुनेपछि उनी किन सँगै काम नगर्ने भन्ने सोचमा पुगेका थिए । उनी भन्छन्, ‘सुरुमा ‘नन् एक्टर’सँगै काम गर्ने कुरा भएको थियो । पछि दयाजीले काम गर्ने इच्छा राखेको सुन्नमा पाएँ । फिल्मले राई समुदायको कथा भन्छ र दयाजी पनि राई समुदायकै भएकाले किन सँगै काम नगर्ने भन्ने भयो ।’

‘गाउँ आएको बाटो’ अफर गर्दा दयाहाङलाई उनले १५ केजी तौल घटाउनुपर्ने सर्त राखेका थिए । त्यसका लागि उनले ३ महिनाको समय दिए । सुब्बा सम्झन्छन्, ‘२ महिना १०/१२ दिन भएपछि उहाँ आउनुभयो । १५ केजी त सकिएन, १२ केजी घटाएँ के गर्नुहुन्छ भन्नुभएपछि अब सँगै काम गरौं भन्ने निर्णय गरेका थियौं ।’ फिल्ममा दयाहाङले निकै अब्बल काम गरेको उनले दाबी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*