आममाफीका क्रममा १५ हजारभन्दा बढी श्रीलङ्काली सैनिक डिस्चार्ज
कोलम्बो- रक्षा मन्त्रालयले घोषणा गरेको एक महिना लामो आममाफी अवधिमा श्रीलङ्काको सेना त्यागेका १५ हजारभन्दा बढी सैनिकले आफ्नो कर्तव्यबाट कानूनी मुक्ति पाएका सेनाले बताएको छ ।
सन् २०२४ अप्रिल २० देखि मे २० मेसम्म सामान्य माफीको घोषणा गरिएको थियो । यस अवधिमा सेनाबाट अनुपस्थित रहेकाहरूलाई सम्बन्धित रेजिमेन्टल केन्द्रहरूसँग समन्वय गरी कानूनीरूपमा सेनाबाट मुक्त हुने अवसर दिइएको थियो ।
सेनाको विज्ञप्तिअनुसार आममाफी अवधिको अन्त्यसम्ममा सन् २०२३ डिसेम्बर ३१ र यसअघि बिदाबिना आफ्नो कर्तव्यबाट अनुपस्थित जम्मा १५ हजार छ सय ६७ सैनिकलाई उनीहरूको रेजिमेन्टल केन्द्रहरूबाट अस्थायीरूपमा डिस्चार्ज गरिएको छ ।
श्रीलङ्काली सेनाले डिस्चार्ज भएकामध्ये तीन सय ७३ भगौडा सेना हाल विदेशमा बसोबास गरिरहेको र बिदा बिना आफ्नो कर्तव्यबाट अनुपस्थित रहेको बताएको छ ।







