फिल्म ‘गाउँ आएको बाटो’ नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुने

जनपत्र
५ जेष्ठ २०८१, शनिबार १६:०५

फिल्म ‘गाउँ आएको बाटो’ नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुने भएको छ। अमेरिकाको मेरिल्यान्डमा आयोजना हुँदै आएको महोत्सवमा ओपनिङ फिल्मको रूपमा जून २० मा ‘गाउँ आएको बाटो’ स्क्रिनिङ हुने भएको हो।

नवीन सुब्बा निर्देशित जेठ २५ गतेदेखि नेपाल र डायस्पोरामा रिलिज हुन लागेको फिल्मले सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा सहभागिता जनाइसकेको छ।

फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ। गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा फिल्मले पेश गर्छ। आमोद राई फिल्मका निर्माता हुन्।

त्यस्तै, महोत्सव समापन फिल्मको रूपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुने भएको छ। भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भइसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्।

वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गर्ने यो फिल्मले उत्कृष्ट समीक्षा पाएको छ। फिल्ममा सौगात मल्ल, बिपिन कार्की, सृष्टि श्रेष्ठ र प्रवीण खतिवडा शीर्ष भूमिकामा छन्। महोत्सवको यस वर्षको संस्करण जून २० देखि २३ (असार ६ देखि ९) सम्म आयोजना हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*