विश्वभर पुरुष यौनाङ्ग क्यान्सर किन बढ्दैछ ?
एक पुरुषले आफ्नो लिङ्गमा गिर्खा पलाएको अनुभव गरे । ६३ वर्षीय उनी थुप्रै स्वास्थ्य संस्थामा धाए । तर समस्या पत्ता लागेन ।
‘चिकित्सकहरुले बोसो बढेर मासु पलाएको भन्दै मलाई औषधि खान सिफारिस गर्थे । औषधि खाएपनि लिङ्गमा पलाएको गिर्खा घटेन, बरु बढ्दै गयो । जसको सिधा असर वैवाहिक जीवनमा पर्न थाल्यो,’ उनी भन्छन् ।
बिस्तारै श्रीमती र आफूबीच यौन सम्बन्धमा कमी थालेको उनले महसुस गरे । अन्तत : पाँच वर्षपछि उनले थाहा पाए, आफूलाई लिङ्गको क्यान्सर भएको रहेछ ।
‘यो मेरो परिवारको लागि एकदमै पीडादायी झट्का थियो । मैले क्यान्सरबाट बच्न लिङ्गको केही भाग काट्नुपर्यो । जसले आफू चकनाचुर भएको महसुस भयो,’ उनी भन्छन्, ‘यो यस्तो क्यान्सर हो जसको बारेमा कसैसँग खुलेर भन्न सकिंदैन । किनकि, हाँसोको पात्र बन्न डर लाग्दो रहेछ ।’
यो क्यान्सर दुर्लभ रोगमध्ये एक हो । दुर्लभ भएपनि लिङ्ग क्यान्सरका बिरामी र मृत्यु हुनेको संख्या विश्वभर लगातार बढिरहेको छ ।
पछिल्लो अध्ययनअनुसार ब्राजिलमा पेनाइल क्यान्सरको दर धेरै उच्च छ, अर्थात् प्रत्येक एक लाखमा २.१ मा यो रोग छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१२ देखि २०२२ सम्ममा देशमा लिङ्गको क्यान्सरका २१ हजार केस दर्ता भएका थिए । सो क्यान्सरबाट चार हजारभन्दा बढीले ज्यान गुमाए ।
र, विगत एक दशकमा यो क्यान्सरका कारण साढे ६ हजारभन्दा बढीले आफ्नो लिङ्ग काट्नु परेको छ । यसको मतलव औसतमा प्रत्येक दुई दिनमा एक जनाको लिङ्गको शल्यक्रिया हुन्छ ।
ब्राजिलको सबैभन्दा अविकसित प्रान्तमध्येको एक मारान्हाउमा, प्रत्येक एक लाख पुरुषमध्ये ६.१ मा लिङ्गको क्यान्सर पीडित भेटिन्छन् । जुन संसारमा सबैभन्दा उच्च दर हो ।
लिङ्गको क्यान्सरका लक्षण प्रायः त्यसमा भएको घाउबाट सुरु हुन्छ, जुन निको हुँदैन र लिङ्गबाट धेरै दुर्गन्धित स्राव हुन्छ । यदि यो क्यान्सरबारे छिट्टै पत्ता लाग्यो भने शल्यक्रियाद्वारा गिर्खा हटाई रेडियोथेरापी वा केमोथेरापी मार्फत निको पार्न सकिन्छ ।
तर यदि लिङ्गको क्यान्सरलाई यथास्थितिमा राखियो वा उपचार गरिएन भने लिङ्गको सम्पूर्ण भाग काट्नुपर्ने हुनसक्छ । कतिपय अवस्थामा नजिकका अन्य यौनाङ्गहरू अर्थात् अण्डकोष पनि काट्नुपर्ने हुनसक्छ ।
क्यान्सरबाट छुट्कारा पाउन आफ्नो लिङ्गको एक भाग शल्यक्रिया गरेर काट्नुपरेको समय निकै कठिन रहेको जोआओ बताउँछन् ।
‘जनवरीमा शल्यक्रिया भयो । यो यस्तो अवस्थाबाट गुज्रिनुपर्छ भनेर कहिल्यै सोचेका थिइनँ ।’
‘शल्यक्रिया गर्नुपर्छ भन्दा धेरै डराएको थिएँ । तर मसँग अर्को विकल्प थिएन । शल्यक्रियापछिका केही सातासम्म म धेरै दु:खी थिएँ । आफ्नो लिङ्गको एक भागबाट वञ्चित हुनु एकदमै डरलाग्दो अनुभव भोगें ।’
कतिपय बिरामीको लिङ्ग पूरै काट्नुपर्ने हुन्छ, जसले गर्दा उनीहरूको जीवन पूर्ण रूपमा परिवर्तन हुन्छ ।







