चिनियाँ अभिनेतृ डायना पेंग काठमाडौंमा, नेपाली फिल्ममा सह-निर्माणबारे छलफल

जनपत्र
२९ बैशाख २०८१, शनिबार १३:२५

फिल्मसहितका सम्भावित लगानीको क्षेत्र खोज्दै चर्चित चिनियाँ अभिनेतृ डायना पेंगसहितको टोली यतिबेला नेपाल भ्रमणमा छ ।

सिल्करोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसन (सिको) नामक व्यवसायिक संस्थाको निम्तोमा बुधबार आइपुगेको टोली शनिबार राती स्वदेश फर्कने कार्यक्रम छ ।

संस्थाकी नेपाल प्रतिनिधि सपना दाहालका अनुसार पेंगको उक्त भ्रमण टोलीले शुक्रबार प्रधानमन्त्रीका सल्लाहकारहरु, लगानी बोर्डका अधिकारीसँग भेट गर्दै सम्भावित लगानीबारे छलफल गरेको छ ।

फिल्म निर्माणमा समेत संयुक्त लगानीमा सहकार्य गर्न पेंगले रुचि देखाएको सिकोकी प्रतिनिधि दाहालले अनलाइनखबरलाई बताइन् । यही उद्देश्यले अभिनेतृ पेंग र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीबीच शुक्रबार लाजिम्पाटस्थित होटल एम्बेसडरमा छलफल भएको थियो ।

भेटबारे कुरा गर्दै अध्यक्ष केसीले नेपाली फिल्ममा लगानीबारे छलफल भएको बताए । ‘उहाँहरुले मिल्यो भने नेपाली फिल्ममा ज्वाइन्ट भेन्चर गर्न सकिनेबारे बताउनुभयो’ पेंगसँगको भेटबारे अध्यक्ष केसीले भने, ‘सहकार्य हुन सके नेपाल ठूलो फिल्म बजार हुनसक्ने र सांस्कृतिक आदानप्रदानमा समेत सजिलो हुने उहाँको भनाई थियो ।’

व्यवसायी समेत रहेकी अभिनेतृ पेंगले नेपालको ऊर्जा र फोहोर ब्यवस्थापनमा समेत चासो देखाएकी छन् । ‘उहाँसँग व्यक्तिगतरुपमा मैले चिनेको ४–५ वर्ष भयो, मेरै पहलमा उहाँलाई ल्याएकी हुँ’ दाहालले भनिन्, ‘पेंग नेपालको फिल्ममा लगानी गर्न इच्छुक हुनुहुन्छ ।’

यी चर्चित चिनियाँ अभिनेतृले ६० भन्दा बढी चिनियाँ फिल्म र टेलिभिजन सिरिजमा अभिनय गरेकी छन् ।

उनी द इम्प, द सिक्स डेभिल वुमन, चाइनिज चकलेट, इरोटिक घोस्ट स्टोरी : परफेक्ट म्याच, मिडनाइट कलर, इभिल इन्स्टिंक्ट, द एचके ट्रायड जस्ता फिल्मका लागि परिचित छिन् । उनले फिल्म ‘द नान वान फ्रन्टियर’ पनि निर्देशन गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*