राष्ट्रिय चलचित्र पुरस्कारविरुद्धको रिट खारेज

जनपत्र
२६ बैशाख २०८१, बुधबार ०५:३८

पाटन उच्च अदालतले राष्ट्रिय चलचित्र पुरस्कारविरुद्ध दायर रिटलाई खारेज गरेको छ । न्यायाधीशद्धय लेखनाथ पौडेल र टीकराम आचार्यको संयुक्त इजलासले मंगलबार उक्त फैसला गरेको हो ।

२०८० सालमा वितरण गरिएको पुरस्कारमा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने निर्णयविरुद्ध फिल्म ‘प्रकाश’का लेखक र निर्देशकले गतवर्षको असोज २४ गते रिट दायर गरेका थिए ।

सो फिल्मका निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले रिट परमादेश माग गर्दै रिट दायर गरेका थिए ।

गतवर्षको भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो ।

एक जना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए । खासगरी सत्तारुढ माओवादी दललाई उक्त फिल्ममा नकारात्मक चित्रण गरिएकाले राजनीतिक हस्तक्षेपमा उक्त विधामा पुरस्कार नबाँडिएको भन्ने प्रतिक्रिया पनि आएका थिए ।

अदालतले यो मुद्दामा बोर्डविरुद्ध कारण देखाउ आदेश जारी गरेको थियो । अध्यक्ष भुवन केसीले वारेसमार्फत अदालतलाई जवाफ दिँदै फिल्म ‘प्रकाश’लाई जुरीले उत्कृष्ट चलचित्र भनी सिफारिस गरेको तर बोर्डका एक जना सदस्य रविचन्द्र अधिकारीले उजुरी निवेदन दिएपछि गठित तीन सदस्यीय समितिले दिएको प्रतिवेदनको सुझावको आधारमा उत्कृष्ट राष्ट्रिय चलचित्र विधाको पुरस्कार स्थगन गरिएको दाबी गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*