घडी जस्तै चल्ने स्विट्जरल्याण्ड

जनपत्र
२२ बैशाख २०८१, शनिबार १४:०६

बार्सिलोना। स्विट्जरल्याण्ड भन्ने बित्तिकै आम मानिस सोच्दा हुन्, यो देशमा राम्रा हिमालहरू छन्। सुन्दर झरना, पहाड र रमणीय गाउँहरू छन्। तर विश्व चर्चित हास्य अभिनेता चार्ली च्याप्लिनले भन्थे, ‘स्विट्जरल्याण्डमा हिमाल मात्र होइन, समयनिष्ठ र सरसफाइ छ। जुन विश्वको ईर्ष्या हो।’

च्याप्लिनले आफ्ना आँखाले जसरी स्विट्जरल्याण्ड देखे, त्यसरी नै बोले पनि। जीवनको अन्तिम कालखण्डको २५ वसन्त जेनेभा नजिकैको गाउँमा बिताए। संवादविहीन फिल्मका सबैभन्दा प्रभावशाली कलाकार मानिने च्याप्लिनले जीवनको अन्तिम सास स्विट्जरल्याण्डमा नै फेरे। यहाँका रमणीय गाउँहरूले च्याप्लिनको मात्रै होइन, उनी जस्तै धेरैको मन खिचेको छ।

त्यसो त वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि भनेका छन्— ’स्विट्जरल्याण्डको परिदृश्य हामीलाई आनन्द लिनको लागि मात्र होइन। संसारमा अवस्थित उत्कृष्ट सौन्दर्य र सद्भावको सम्झना गराउनको लागि बनाइएको जस्तो देखिन्छ।’

राजधानी बेर्न शहरको केन्द्रमा पर्ने भागमा आइन्स्टाइन बसेका थिए। त्यो क्षेत्रलाई युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ। उनी बसेको घरलाई स्वीस सरकारले अहिले संग्रहालयको रूपमा सुरक्षित राखेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*