कसरी पुनर्स्थापित भयो इन्टरनेट सेवा ?

जनपत्र
२१ बैशाख २०८१, शुक्रबार ११:४५

काठमाडौं । बिहीबार अवरुद्ध भएको इन्टरनेट सेवा चल्न थालेको छ ।

वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका सेवा प्रदायकहरुले इन्टरनेट सेवा पुनर्स्थापित भएको सूचना जारी गरेका छन् । तर यो स्थायी हो वा अस्थायी समाधान हो भन्ने उनीहरुले खुलाएका छैनन् ।

विहीबार दिउँसोदेखि अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले इन्टरनेट सेवा बन्द गरिदिएका थिए । त्यसबाट सेवाग्राहीहरु मर्कामा परेका थिए ।

आइएसपीकै सक्रियतामा खुल्यो इन्टरनेट सेवा

भारतीय ब्याण्डविथ बिक्रेतालाई तिर्न बाँकी बक्यौता यथाशक्य चाँडो भुक्तान गर्ने नेपालका आईएसपीहरुको सामूहिक प्रतिबद्धतापछि मध्यरातिबाट इन्टरनेट सेवा सुचारु भएको हो ।

‘प्रभावित सबै आईएसपीहरुले रोकिएको भुक्तानी यथाशक्य चाँडो गरिदिने भन्दै प्रतिबद्धता पत्र पठाएपछि उनीहरु सेवा सुचारु गर्न तयार भएका हुन्’ ,भायानेट कम्युनिकेसनका प्रबन्ध निर्देशक विनय बोहोराले भने ।

९ महिनादेखिको ब्याण्डविथको पैसा पठाउन नेपाल सरकारले रोकेपछि भारतीय कम्पनीहरुले हिजो अपरान्ह ४ बजेदेखि ब्याण्डविथ सप्लाई बन्द गरेका थिए ।

सरकार र आईएसपीहरुबीच विवादले उपभोक्तालाई दुःख भएको भन्दै उनले ग्राहकलाई दुःख नदिउँ भन्दै अनुरोध गरेपछि केही दिनका लागि सेवा सुचारु गर्न भारतीय कम्पनीहरु तयार भएको उनले बताए ।

वर्ल्ड लिंक नेपालका सीईओ केशव नेपालले पनि इन्टरनेट सेवा अवरुद्ध नगर्न आग्रह गर्दै पत्र पठाएपछि सेवा पुनर्स्थापित भएको जानकारी दिए । ‘तिमीहरुले यसरी इन्टरनेट बन्द गर्न पाउँदैनौं भनेर चेतावनीयुक्त पत्र पठाएपछि सेवा सुचारु भयो,’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*