नेपाल क्रिकेट संघको निर्वाचन असोज दोस्रो साता

नेपाल क्रिकेट संघ ९क्यान० को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते काठमाडौंमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् ९राखेप०, आईसीसी र आईसीसीद्वारा गठित स्वतन्त्र समितिका पदाधिकारीहरूबीच सोमबार सम्पन्न छलफलपछि सबैको सहमतिमा क्यान निर्वाचनको नयाँ मिति घोषणा गरिएको हो।
छलफलमा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, आईसीसीका प्रतिनिधि इमराख ख्वाजा र अमर शेखसँगै स्वतन्त्र समितिका पदाधिकारीको उपस्थिति रहेको थियो। छलफलपछि असोज १० र ११ गते निष्पक्ष र पारदर्शी रूपमा क्यानको निर्वाचन सम्पन्न गर्ने सहमति भएको जानकारी छलफलमा उपस्थित स्वतन्त्र समितिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठले दिए।
सम्बद्ध पक्षहरूबीचको यस्तो सहमतिसँगै लामो समयदेखि घरेलु क्रिकेटमा देखिएको विवाद छिट्टै समाधान हुने सम्भावना बढेको छ। तीन वर्षभन्दा लामो समयदेखि घरेलु क्रिकेटको नेतृत्वदायी निकाय क्यान आईसीसीको निलम्बनमा रहँदै आएको छ। यसअघि विवाद समाधान र निष्पक्ष निर्वाचन गराउन गठित स्वतन्त्र समितिले क्यानको निर्वाचनका लागि असोज ३ र ४ गतेको मिति घोषणा गरेको थियो।
तर, सदस्यसचिव सिलवालले स्वतन्त्र समितिले निर्वाचनका लागि राखेपसँग स्वीकृति नलिएको, २१ दिने सार्वजनिक सूचना जारी नगरेको र निर्वाचन समिति राखेपले नै बनाउनुपर्ने दाबी गर्दै असोज ३ र ४ गते हुने भनिएको निर्वाचन रोक्न मौखिक निर्देशन दिएका थिए। त्यसपछि क्यानको निर्वाचन स्थगित भएको थियो। क्यान राखेपमा दर्ता रहेको खेल संघ हो।
निर्वाचनको विषयमा स्वतन्त्र समिति र राखेपबीच विवाद देखिएपछि त्यसैको समाधानका लागि आईसीसीका प्रतिनिधि इमरान ख्वाजा र अमर शेख आइतबार नेपाल आएका थिए। ‘छलफल सकारात्मक रूपमा सम्पन्न भयो। सबैको सहमतिमै निर्वाचनको नयाँ मिति घोषणा गरिएको हो’, कानुनी परामर्शदाता श्रेष्ठले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अब छिट्टै निर्वाचनका लागि सार्वजनिक सूचना जारी गरिनेछ।’