बुद्धि तामाङ र विजय बराल अभिनित ‘आँखा’को रिलिज मिति तय

जनपत्र
१४ बैशाख २०८१, शुक्रबार १५:१९

सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’  असार १४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । आधिकारिक पोस्टर सार्वजनिक गर्दै निर्माताले रिलिज मिति घोषणा गरेका हुन् ।

जौन योन्जन निर्देशित फिल्मको पोस्टर केही भिन्न देखिन्छ । पोस्टरमा आँखा र सूर्यमुखी फूलको पृष्ठभूमि र रङमा मुड सिर्जना गरिएको छ । विजय बराल, बुद्धि तामाङदेखि पछिल्लो समयका चर्चित कलाकारहरु पोस्टरमा समेटिएका छन् ।

अर्को थिम पोस्टरमा फोहोरको थुप्रोमाथि सूर्यमूखी फूल उम्रिएर र फक्रिएको देख्न सकिन्छ । पोस्टरको शैली हेर्दा कथावस्तुमा केही नवीनता रहेको बुझ्न सकिन्छ ।

निर्देशक योञ्जनले मानवीय आयामलाई फिल्ममा समेटिएको बताए । ‘यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिस कति गहिराइसम्म जान सक्छन् भन्ने मार्मिक दृष्टिकोण हो,’ निर्देशक योञ्जन भन्छन्, ‘दुःख, एक्लोपनजत्तिकै त्रासदीपूर्ण हुन्छ । यही परिधिभित्रको रमाइलो कथा आँखा हो ।’

निर्देशक योन्जनको पटकथा रहेको फिल्ममा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल मुख्य भूमिकामा छन् । बाल कलाकार प्रसन राई छन् ।

स्मिता लामिछाने फिल्मकी निर्मात्री हुन् । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा संगीत दीपक आरजेको छ । ढाकाटोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा फिल्म तयार भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*