‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ बन्यो स्पोटीफाइमा एक सातामै अर्ब पटक सुनिने पहिलो एल्बम
संगीतको चर्चित प्लाटफर्म स्पोटीफाइमा अमेरिकी गायिका टेलर स्वीफ्टको नयाँ एल्बम ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ले एक सातामा एक अर्बभन्दा बढी पटक सुनिने पहिलो एल्बमको कीर्तिमान राखेको छ ।
पाँचौं दिनमा यो रेकर्ड तय भएपनि साता सकिन दुई दिन बाँकी भएकाले यो संख्यामा अझै बढोत्तरी हुनेछ । स्वीफ्टले सन् २०२१ मा रिलिज भएको आफ्नै एल्बम ‘मिडनाइट्स’ले रचेको इतिहासलाई तोडेकी हुन् । अमेरिकी समयनुसार बिहीबार बेलुकासम्म बिलबोर्डको तालिका र आइतबार लुमिनेटको नतिजा नआउँदासम्म यकिन तथ्यांक भने आउँदैन । तर अनुमानअनुसार स्वीफ्टको यो एल्बमले दुई मिलियनको आँकडा पार गर्नेछ । यसअघि एल्बम बिक्रीको यो रेकर्ड ९ वर्षअघिको एडेलको एल्बम ‘२५’ सँग थियो ।
लुमिनेट र बिलबोर्डले रिलिजको तीन दिनमै ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’का ७ लाख प्रति एल्बम बिक्री भएको जनाएका छन् । एक सातामै एल्बमको यो बिक्री आधुनिक संगीतको इतिहासमा पहिलो भएको जनाइएको छ । अझै चार दिनको तथ्यांक आउन बाँकी छ ।
साउण्ड स्क्यानले सन् १९९१ मा एल्बम बिक्रीको अभिलेख राख्ने थालेपछि यो तथ्यांक अहिलेसम्मकै अधिक रहेको भेराइटी म्यागजिनले उल्लेख गरेको छ । बिलियन पटक सुनियो भन्ने खबर आउनुअघि रिलिज भएदेखि नै यो एल्बमले कीर्तिमानका अन्य उपलब्धि पनि हासिल गरिसकेको छ ।
एल्बममा संग्रहित ‘फोर्टनाइट’ गीतले स्पोटीफाइमा एकैदिनमा धेरैपटक सुनिने गीतको रेकर्ड राखिसकेको छ । एकैदिनमा धेरै स्ट्रिमिङ हुने गीतको रेकर्डसहित यो एल्बमले धेरै प्रतिक्षित एल्बमको अर्को रेकर्ड पनि राखेको छ ।







