महिला टी–२० क्रिकेटको वरीयतामा नेपाल एक स्थान तल झर्यो
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वेन्टी क्रिकेटको वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको टी–ट्वेन्टीको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५औं स्थानमा पुगेको छ ।
अघिल्लो वरीयतामा नेपाल १४औं स्थानमा रहेको थियो । पपुवा न्यू गिनीको वरीयता बढेपछि नेपाल एक स्थान तल झरेको हो । नयाँ वरीयताअनुसार नेपालले १९ खेलबाट १२८ रेटिङ अंक पाएको छ । नेपालले थाइल्याण्डमा गएको फागुनमा सम्पन्न आईसीसी विश्वकप एसिया छनोट खेलेपछि अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।
त्यस प्रतियोगितामा नेपाल आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डसँगको हारसँगै नेपाल उपविजेता बनेको थियो र नेपाल अघिल्लो चरण पुग्नबाट बञ्चित भएको थियो । एसोसियट राष्ट्रको टी–ट्वेन्टी वरीयतामा नेपाल चौथो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडि थाइल्याण्ड, स्कटल्याण्ड र पपुवा न्यू गिनी रहेका छन् ।