पुलिसले घर घेरेपछि भागेको चोरद्वारा डेढ घण्टापछि त्यही घरमा फर्किएर चोरी
चोरी गर्दागर्दै छिमेकीले सूचना दिएपछि घर घेर्न प्रहरी आउनासाथ भागेको चोर करिब डेढ घण्टापछि सोही घरमा फर्किएर चोरी गरी फरार भएको छ ।
घटना भारतको पन्जाब राज्यको जालन्धरमा भएको हो । गुरु गोविन्द सिंह एभेन्यु क्षेत्रको एउटा घरमा चोर प्रवेश गरेको थियो । दिउँसै पर्खाल नाघेर घरमा कोही प्रवेश गरेको देखेपछि छिमेकीले प्रहरीलाई सूचना दिएका थिए ।
लगत्तै उक्त घरमा प्रहरीको एउटा टोली पुगेको थियो । तर प्रहरीकै सामु पर्खाल नाघेर चोर भाग्न सफल भयो । केहीबेरमा प्रहरी पनि त्यहाँबाट फर्किएको थियो ।
तर उक्त घटनाको करिब डेढ घण्टापछि उक्त चोर कपडा फेरेर फेरि त्यही घरमा पर्खाल नाघेर प्रवेश गरेको थियो । यतिबेला छिमेकीले चोरलाई देखे पनि पक्राउ गर्न सफल भएनन् ।
यी दुवै घटना सीसीटीभी क्यामेरामा कैद भएको छ । प्रहरीले चोर पत्ता लगाउन अनुसन्धान अघि बढाएको छ । उक्त घरमा के–कति सामान चोरी भयो भन्ने खुल्न सकेको छैन ।







