कविता : कङ्कालको जुलुस

जनपत्र
७ चैत्र २०८०, बुधबार १५:४९

समाजको मधुशालाबाट नियाल्दै छु म
कपटले गरिरहेको नृत्य
असत्यले गरिरहेको भाषण
मुकुण्डोले खेलिरहेको इमानदारिताको खेल
धूर्तताले बजाएको चाप्लुसीको सङ्गीत
हत्या, बलात्कार र चिसो दुर्दशाका अखबार ।

सुनिरहेको छु म एउटा नमिठो कानेखुसी,
लुक्दै ओढेर सेतो पर्दा
जो गिज्याइरहेको छ चिच्याहटलाई
जहाँ झुटा आदर्शको चक्रव्यूहमा
हराएका छन् छोराहरू
र समानताको तुलोमा सदियौँदेखि
तुर्लुङ्ग छन् छोरीहरू
नराम्रोसँग गाँजेको छ तिनलाई
भुलभुलैयाको यो समयले ।

उहीँनेर
कोही मनाइरहेका छन् रमिता
कोही बेचिरहेका छन् समाचार
र बालिरहेका छन् चुलो
सबै सबै छन् व्यस्त
बजाउन आफ्नै डम्फु ।

नारा लगाइरहेका छन् कंकालहरू
जुलुस प्रदर्शन छ बजारमा अहिले
हामी मार्गदर्शन चाहन्छौँ
भूलभुलैया मुर्दावाद !

ए प्रिय, बाआमा
आउनुस् हामी भत्काऔँ यी विभेदका तहहरू
पत्ता लगाऔँ कारणहरू
र सामना गरौँ सँगसँगै
दिएर चुनौती अहंकारलाई
आउनुहोस् हामी उड्न दिउँ
करुणाको आकाशमा शान्ति सुरक्षा
र एकसाथ गरौँ सामाजिक दिशाको पुनर्लेखन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*