पेट्रोलियम भण्डारण डिपो बन्न सुरू
सातै प्रदेशमा पेट्रोलियम भण्डारण डिपो स्थापना गर्ने सरकारी लक्ष्यअनुसार सुर्खेतमा आवश्यक प्रक्रिया सुरू भइसकेको छ । जग्गा प्राप्तिसँगै डिपो निर्माणसम्बन्धी सम्भाव्यता अध्ययनको काम यसै वर्षदेखि सुरू हुने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा इन्धन भण्डारण डिपो निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न रु ७० लाख बजेट विनियोजन गरिसकेको छ । नेपाल आयल निगमको प्रदेश कार्यालयले जग्गाको टुङ्गो लगाएर यसै वर्ष सम्भाव्यता अध्ययन लगायतका बाँकी काम अघि बढाउने जनाएको छ ।
नेपाल आयल निगमका देशभर १० मुख्य डिपो छन् । तीमध्ये निगमको यहाँस्थित कर्णाली प्रादेशिक कार्यालय इन्धन भण्डारण नभएको डिपोमा पर्दछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्तीमा ९० दिनलाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण राख्न सकिने गरी नयाँ संरचना निर्माण गर्ने लक्ष्य राखेको छ ।