यस्तो छ चन्द्रमा पुग्न शक्ति राष्ट्रबीचको रोचक दौड

जनपत्र
२० फाल्गुन २०८०, आईतवार ०६:१८

आगामी केही वर्षभित्रमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मानिसलाई पुनः चन्द्रमामा पठाउने योजना बनाइरहेको छ ।

पछिल्लोपटक चन्द्रमामा अन्तरिक्षयात्री पठाएको ५० वर्षपछि नासाले पुनः मानव मिसन प्रक्षेपण गर्ने तयारी गरिरहेको छ ।

अमेरिकाका निल आर्मस्ट्रंग र बज अल्ड्रिनले सन् १९६९ मा पहिलोपटक चन्द्रमामा पाइला राखेका थिए ।

त्यसपछि नासाले एपोलो मिसनअन्तर्गत कुल १२ जना अन्तरिक्षयात्रीलाई चन्द्रमामा अवतरण गरायो । अमेरिकापछि रुस, चीन, भारत तथा जापानले आफ्ना अन्तरिक्षयान, ल्याण्डर वा रोबरहरु चन्द्रमामा अवतरण गराउनका सफलता प्राप्त गरेका छन् । तर, अहिलेसम्म अमेरिका बाहेक अरु कुनै पनि देशले चन्द्रमामा मानिसलाई पठाउन सकेका छैनन् ।

यसैबीच अमेरिकाले आफ्नो आर्टेमिस कार्यक्रमअन्तर्गत पुनः अन्तरिक्षयात्रीको एक टोलीलाई चन्द्रमामा प्रक्षेपण गर्ने योजना बनाइरहेको छ । यस्तै योजना भारत र चीनले पनि बनाइरहेका छन् ।

चन्द्रमामा पुनः मानव पाइला टेकाउने प्रतिस्पर्धामा रहेका मुलुकहरुमध्ये कसले बाजी मार्ला ?

चन्द्रमाको यात्रामा…

सन् १९६१ मा अन्तरिक्षबाट फर्किंदै गर्दा रूसी यात्री यूरी गागरिन ।

चन्द्रमामा जानका लागि सबैभन्दा आवश्यक हुन्छ रकेट प्रविधि । शीतयुद्धका बेला सोभियत संघ र अमेरिकाको बीचमा यो प्रविधिको प्रयोगबाट मानिसलाई अन्तरिक्षमा सबैभन्दा पहिले पठाउनका लागि प्रतिस्पर्धा सुरु भयो ।

सन् १९६१ मा सोभियत संघले युरी गागरिनलाई अन्तरिक्षमा पठाउनमा सफलता हासिल गर्‍यो ।

‘द इकोनोमिस्ट’ का वरिष्ठ सम्पादक तथा ‘द मून, अ हिस्ट्री फर द फ्युचर’ पुस्तकका लेखक ओलिभर मोर्टनका अनुसार मानिसलाई चन्द्रमा वा अन्तरिक्षमा लैजानु एक जबरजस्त काम हो । यसबाट विश्वमा उक्त देशको शाख तथा शक्ति बढ्नजान्छ । त्यसैले सन् १९६१ मा सोभियत संघले अन्तरिक्षमा मानिसलाई पठाउन प्राप्त गरेको सफलताले अमेरिकामाथि दबाब बढ्यो ।

उनी भन्छन्- त्यसपछि अमेरिकाले केही यस्तो गर्न चाहन्थ्यो जुन सोभियत संघको उपलब्धि भन्दा उत्कृष्ट होस् । त्यसैले चन्द्रमामा मानिस पठाउनु त्योभन्दा ठूलो उपलब्धि थियो । त्यसका लागि अधिक- शक्तिशाली रकेट आवश्यक थियो । चन्द्रमामा कदम राखेर अमेरिकाले संसारभर आफ्नो छाप छाड्न चाहन्थ्यो ।

सन् १९६९ मा अमेरिकाले एपोलो ११ अन्तरिक्षयानबाट दुईजना अन्तरिक्षयात्रीहरुलाई चन्द्रमामा अवतरण गराउनमा सफलता हासिल गर्‍यो । त्यसपछि दोस्रो एपोलो अभियानका माध्यमबाट दशजना थप अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन अमेरिका सफल भयो । त्यो केवल एउटा ठूलो वैज्ञानिक उपलब्धि मात्र थिएन अमेरिकाका लागि एउटा राजनीतिक उपलब्धि पनि थियो । दुनियाँमा दुईजना मानिसहरु चन्द्रमामा हिंडिरहेको तस्वीर फैलियो । तर मानिसहरुालई सबैभन्दा धेरै आकर्षण  गर्‍यो, एउटा अर्को तस्वीरले ।

ओलिभर मोर्टनले भनेका छन्, ‘निश्चित रुपमा चन्द्रमामा निल आर्मस्ट्रंग र बज अल्ड्रिनको तस्वीर संसारभर छायो । तर, जुन तस्वीरले आम मानिसहरुको मनमा डेरा जमायो, त्यो चाहिं चन्द्रमाबाट देखिने पृथ्वीको उदयको तस्वीर थियो । त्यो एउटा जिवित ग्रहको चम्किलो तस्वीर थियो, जसको पोस्टर मानिसहरुले आफ्नो घरमा टाँगेर राखे ।

सोभियत संघले कहिल्यैपनि चन्द्रमामा मानिस पठाउन सकेन । तर सन् १९७० को दशकमा मानिसको अन्तरिक्ष यात्राको महत्व किन कम भयो ?

ओलिभर मोर्टनको विचारमा अमेरिकाले यसमा पहिले नै जित हासिल गरिसकेको थियो । एकदुई पटक त्यहाँ मानिसलाई पठाएर अध्ययन पनि गरिसकेको थियो । त्यसैले अमेरिकाका त्यो त्यसको महत्व कम भयो र उसले उक्त मिसन बन्द गरिदियो ।

तर अहिले लाग्दैछ कि अन्तरिक्षयात्रीहरुले पुनः आफ्नो सिटबेल्ट कस्ने समय आएको छ। त्थापि यस पटक अमेरिकाका लागि अन्य देशहरुले भन्दा पहिले मानिसलाई चन्द्रमामा पठाउने दौड सम्भवतः कठिन बनेको छ । किनकि यसपटक अन्य प्रतिस्पर्धीहरुसँग उसको कडा प्रतिस्पर्धा हुनसक्छ ।

चन्द्रमा सम्मको दौड

स्पेश एक्सको अन्तरिक्ष केन्द्र ।

पछिल्ला केही वर्षदेखि अमेरिका र चीनको बीचमा तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । तर यी दुई मुलुकहरुले अब आफ्नो प्रतिस्पर्धालाई पृथ्वीभन्दा अगाडि बढाउँदै अन्तरिक्षसम्म लगिरहेका छन् ।

प्रविधिसम्बन्धी वेबसाइट आर्स टेक्निकाका अन्तरिक्ष मामिलासम्बन्धी वरिष्ठ सम्पादक एरिक बर्गरका अनुसार अमेरिका र चीनले आगामी पाँच-दश वर्षमा मानव मिसनलाई चन्द्रमामा पठाउने तयारी गरिरहेका छन् । त्यसका लागि दुवैले अन्तर्राष्ट्रिय साझेदारहरुसँगको सहकार्य सुरु गरिसकेका छन् र यसको प्रत्यक्ष सम्बन्ध राजनीतिसँग छ ।

विज्ञका अनुसार चन्द्रमा यसकारण व्यवहारिक लक्ष्य हो किनकि उसको सतहमा गुरुत्वाकर्षण कम छ । यो पृथ्वीको नजिक छ भने त्यहाँ पुग्नमा तीन दिन लाग्दछ । जबकि मंगल ग्रहसम्म पुग्नका लागि ६ देखि ८ महिनासम्म लाग्दछ ।

चन्द्रमामा पुग्ने यस दौडको कुरा गर्नुअघि यसमा रहेका व्यापक प्राविधिक कठिनाइहरुको बारेमा कुरा गर्नु आवश्यक छ । सबैभन्दा ठूलो चुनौती भनेको रकेटलाई अन्तरिक्षमा लैजानु, अन्तरिक्षयात्रीलाई विकिरणबाट बचाउनु र चन्द्रमाको सतहमा सुरक्षित अवतरण गर्नु हो । एरिकका अनुसार यसभन्दा पनि ठूलो कठिनाइ चाहिं सो रकेटलाई पृथ्वीमा फिर्ता ल्याउनका लागि चन्द्रमामा उसलाई पुनः प्रक्षेपण गर्नु हो ।

उनी भन्छन्- जब हामीले पृथ्वीबाट रकेट प्रक्षेपण भएको देख्छौं तब काउन्ट डाउन हुन्छ र रकेटको मुनि तरल इन्धनको आगो निस्किन्छ । यदि कुनै समस्या पत्ता लागेमा मिसनलाई नै रोकिन्छ । चन्द्रमामा सबै कुरा स्वचालित हुनुपर्छ । साथै जब रकेट पृथ्वीको कक्षमा प्रवेश गर्दछ तब उसको गति धेरै हुन्छ । त्यसबाट पैदा हुने तापक्रमबाट रकेटको सुरक्षित राख्नका लागि अत्यन्तै बलियो हिट शिल्ड हुनु आवश्यक हुन्छ ।

यिनै कठिनाइहरुलाई मध्यनजर गर्दै अन्तरिक्षयात्रीहरुको ज्यान तथा जनताको अर्बौं डलरलाई पुनः दाउमा लगाउनु के आवश्यक छ ? सायद यसकारण कि अब यो दौडको स्वरुप बदलिएको छ । अहिले सवाल यो होइन कि सबैभन्दा पहिले कसले मानिसलाई चन्द्रमामा पुर्‍याउन सक्दछ ? मूल प्रश्न त यो छ, कसले सबैभन्दा पहिला यस्तो प्रविधि बनाउन सक्छ जसको मद्दतले मानिस चन्द्रमामै बस्न सकोस् र त्यसको फाइदा उठाउन सकोस् । अर्थात् लडाइँ यो कुराको छ कि कसले सबैभन्दा पहिले चन्द्रमामा मानव बस्ती बसाउनेछ ?

एरिक बर्गरका अनुसार सबैभन्दा धेरै रुचि चाहिं चन्द्रमाको दक्षिणी ध्रुवमा छ किनकि त्यस क्षेत्रका गर्तहरु सदैव अँध्यारोमा रहन्छन् । वैज्ञानिकहरुको अनुमान छ कि त्यहाँ बरफ हुनसक्छ, जुन निकै महत्वपूर्ण संसाधन बन्नसक्छ ।

वैज्ञानिकहरुले सयौं किलोमिटरको क्षेत्रफलको उक्त इलाकामा शोधकेन्द्र स्थापना गर्न चाहन्छन् । यो एउटा सानो इलाका हो, त्यसैले यसमाथि नियन्त्रणको विषयलाई लिएर विवाद हुनसक्छ । यसको प्राविधिक या राजनीतिक फाइदा के होला ? एरिक बर्गरका अनुसार यो मानिसहरुको मस्तिष्कमा छाप छाड्ने होडबाजी हो, जसमा अमेरिका र चीन मुख्य प्रतिद्वन्द्वी रहेका छन् ।

उनका अनुसार पछिल्लो २० वर्षमा चीनले यो दिशामा ठूलो प्रगति रहेको छ । उसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जस्तो एउटा सानो मोड्युल तयार पारेको छ ।

चीनले मंगल ग्रहमा आफ्नो मिसनका क्रममा केवल मंगलको कक्षमा परिक्रामा गर्नेमात्र होइन कि त्यसको सतहमा अवतरण गर्ने सफलता पनि प्राप्त गरेको छ, जुन एउटा ठूलो उपलब्धि हो।

चीन सन् २०३० सम्ममा चन्द्रमामा आफ्नो एउटा आधार क्षेत्र अर्थात् बेस बनाउन चाहन्छ। जबकि अमेरिका चाहिं सन् २०२८ सम्ममा नै सो काम गर्न चाहन्छ । यद्यपि उसको यो मिसनमा पहिले नै ढिलाइ भएको छ । त्यस्तै अमेरिका आफ्नो यो मिसनको सफलताको लागि अर्बपति एलन मस्क र उनको कम्पनी स्पेस एक्समा निर्भर छ ।

एरिक बर्गरको विचारमा स्पेस एक्सले नासाका लागि बनाइरहेको स्टारशिप अन्तरिक्षयान विना यो सम्भव हुनेछैन । अमेरिका र चीन अन्तरिक्षमा खोज अभियानका लागि निजी क्षेत्रका कम्पनीहरुको साथमा मिलेर काम गरिरहेका छन् ।

चन्द्रमामा व्यापारको सम्भावना

स्पेस एक्सका सीईओ एलन मस्क ।

मानिसलाई चन्द्रमामा उतारेर त्यहाँ केही समयसम्म रोकिएर शोध गर्नका लागि विभिन्न प्रकारका प्रविधिहरुको आवश्यकता पर्नेछ । यसमा विभिन्न देशहरुको रुचि छ । अमेरिकाले ३० भन्दा धेरै देशहरुसँग मिलेर एउटा सम्झौता गरेको छ । जसमा चन्द्रमामा अुनसन्धान र तयहाँ विद्यमान स्रोत साधनको प्रयोगका लागि सरकार तथा निजी कम्पनीहरुका लागि नियम तथा नीतिहरु तय गरिएको छ।

बेलायतको नर्थ उम्ब्रिया विश्वविद्यालयमा अन्तरिक्षसम्बन्धी नीति तथा नियम विषयका प्राध्यापक क्रिस्टोफर न्यूमन भन्छन्- विश्वभरका कम्पनीहरुको आशा छ कि अमेरिका र उसको आर्टेमिस परियोजले यस क्षेत्रमा नेतृत्व प्रदान गर्नेछ।

उनका अनुसार विभिन्न देश तथा कम्पनीहरुले चन्द्रमामा विकास गरेर त्यहाँ उपलब्ध स्रोत साधनको दोहन गर्न चाहन्छन् । त्यसैले उनीहरुले अमेरिकासँग सम्झौता गरेका छन् । त्यही प्रकारले विभिन्न अन्य केही देशहरु तथा त्यहाँका निजी कम्पनीहरुले चीनसँग यस क्षेत्रमा साझेदारी गरिरहेका छन् ताकि चन्द्रमामा संरचनाको विकास गरेर पैसा कमाउन सकियोस् ।

चीनले दश वर्षअघि आफ्नो अन्तरिक्ष उद्योग निजी कम्पनीहरुका लागि पनि खुल्ला गरेर यस दिशामा ठूलो सफलता हासिल गरिसकेको छ । तर, यो उद्योगका सबैभन्दा प्रमुख व्यक्ति अहिले पनि एलन मस्क नै हुन्, जसको कम्पनीलाई नासाको आर्टेमिस मिसनका लागि चन्द्रमामा अवतरण गर्ने अन्तरिक्षयान बनाउने जिम्मेवारी सुम्पिइएको छ ।

क्रिस्टोफर न्युमनका अनुसार एलन मस्कको महत्वाकांक्षा निकै ठूलो छ ।

उनी भन्छन्- एलन मस्क आफ्नो स्पेसशिप परियोजनाका माध्यमबाट यो देखाउन चाहन्छन् कि उनी मानव भविष्यको दिशा तय गर्नमा सामेल छन् । अन्य ग्रहहरुमा मानव बस्ती बनाउनमा एलन मस्कको अन्तरिक्षयानको अहम भूमिका हुनेछ । उनको महत्वाकांक्षा केवल मुनाफा कमाउने सम्म सीमित छैन । यो त्यसभन्दा निकै ठूलो छ ।

निजी उद्योगहरुलाई अन्तरिक्षको खोजी अभियानमा सामेल गरेबाट धेरै प्रश्नहरु उब्जिन्छन् । क्रिस्टोफर न्युमनका अनुसार यदि हामीले अन्य ग्रहहरुको यात्रा गर्न चाह्यौं वा त्यहाँ मानव वस्ती बसाउन चाह्यौं भने त्यहाँको नियम के हुने ? अपराधलाई कसरी परिभाषित गर्ने ? र सजाय के हुने ? भन्ने कुरा तय गर्नुपर्नेछ । महत्वाकांक्षी निजी उद्योगहरुलाई ती नियमहरुको दायरमा राख्ने कुरा चुनौतीपूर्ण हुनसक्छ । यस्तोमा अन्तरिक्ष अभियानहरुमा सरकारका लागि निजी कम्पनीहरुमाथिको निर्भरता चिन्ताजनक सावित हुनसक्छ ।

उनी भन्छन्- यहीँ समस्या स्पेस एक्स कम्पनीमा उत्पन्न हुनेछ । एलन मस्क यति शक्तिशाली बन्नेछन् कि उनलाई नियन्त्रण गर्न पनि मुस्किल हुनेछ ।

अहिले हामी केवल पृथ्वीमा मात्रै बसेका छौं । तर कतिपय मानिसहरु अन्य ग्रहमा पनि बस्ती बसाउन चाहन्छन् ताकि यदि पृथ्वी ध्वंस्त हुने संघारमा आयो भने अन्य ग्रहमा जान सकियोस् । यसका लागि अन्य ग्रहमा मानव जिवको विस्तार गर्ने तथा बस्तीहरु बसाउनु कतिपय मानिसहरुको महत्वाकांक्षा हो र एलन मस्क त्यसमध्ये एक हुन् ।

दोस्रो अन्य ग्रहहरुमा बस्ती बनाउनुभन्दा अगाडि चन्द्रमामा मानिसलाई केही समयका लागि बसाउनुबाट पनि निकट भविष्यमा के कुनै फाइदा पुग्ला ?

चन्द्रमामा पानी छ कि छैन ?

चंद्रमा पर चंद्रयान और रोवर प्रज्ञान
चन्द्रयान र रोवर प्रज्ञान चन्द्रमामा ।

एरिजोना स्टेट युनिभर्सिटीस्थित थन्डरबर्ड स्कुल अफ ग्लोबल म्यानेजमेन्टका प्राध्यापक तथा अन्तरीक्ष निती विज्ञ नम्रता गोस्वामीका अनुसार आर्टेमिस सम्झौताको लक्ष्य चन्द्रमामा आर्टेमिस आधार सिविर बनाउनु हो । जसको माध्यमबाट चन्द्रमामा उपलब्ध स्रोत साधनको प्रयोग गर्न सकियोस् अनि मंगल ग्रहमा पुग्ने क्षमतालाई समेत बढाउन सकियोस् । हाल चन्द्रमामा फलाम, टाइटेनियम तथा अन्य विभिन्न उपयोगी तत्वहरु विद्यमान रहेको पत्ता लागिसकेको छ ।

उनी भन्छिन्-भारतको चन्द्रयान शथ्री मिसन चन्द्रमाको दक्षिणी ध्रुवभन्दा ६सय किलोमिटरको दूरीमा अवतरण गर्‍यो । उक्त मिसनले चन्द्रमामा सल्फर, आल्मुनियम तथा अन्य तत्वहरु रहेको पुष्टि गर्‍यो । यद्यपि चन्द्र सतहमा पानी रहेको भने पुष्टि हुन सकेन । चन्द्रमामा बरफ रहे नरहेको पत्ता लगाउनका लागि सन् २०२६ मा भारतले जापानसँग मिलेर एउटा अर्को मिसन चन्द्रमामा पठाउनेछ । चन्द्रमामा मानव बस्तीका लागि पानी तथा पानीको बरफ आवश्यक हुन्छ, किनकि त्यसबाट अक्सिजन बनाउन सकिन्छ ।

यी तथ्यहरुबाट के कुरा संकेत मिल्छ भने अन्तरिक्षमा आगामी दिनको खोज अनुसन्धानका लागि चन्द्रमालाई आधार अड्डाको रुपमा प्रयोग गर्न सकिन्छ।

नम्रता गोस्वामी भन्छिन्- चन्द्रमालाई आधार अड्डा बनाएर त्यहाँबाट मंगल ग्रहका लागि अन्तरीक्षयान पठाउन सकिन्छ । चीनले सन् २०३६ सम्म चन्द्रमामा बेस बनाउन चाहन्छ । भारतले पनि यस्तै परियोजनाको घोषणा गरेको छ । यदि त्यसमा सफलता प्राप्त भयो भने चन्द्रमाको गुरुत्वाकर्षणको प्रयोग गरेर त्यहाँबाट अन्तरिक्षमा रकेट प्रक्षेपण गर्न सकिन्छ । पृथ्वीबाट रकेटको प्रक्षेपण निकै महँगो छ, किनकि चन्द्रमाको तुलनामा पृथ्वीको गुरुत्वाकर्षणबाट बाहिर निस्किनका लागि धेरै इन्धन खर्च हुन्छ । त्यसैले विभिन्न देशहरुले चन्द्रमालाई एउटा सामरिक संसाधनको रुपमा हेरिरहेका छन् ।

के यसका अलावा अरु कुनै यस्ता फाइदाहरु पनि छन् जो चन्द्रमाबाट निकट भविष्यमा लिन सकिन्छ ? उदाहरणका रुपमा चन्द्रमाको केही हिस्सा सदैव सूर्यको प्रकाशमा रहन्छ र त्यहाँ बादल वा वायुमण्डल छैन । अर्थात् चन्द्रमाको सतहको प्रयोग सौर्यउर्जा उत्पादनका लागि पनि गर्न सकिन्छ।

वैज्ञानिक भन्छन्- चन्द्रमामा सौर्य उर्जाको उत्पादन गरेर तल्लो कक्षमा ठूला स्याटेलाइटमार्फत् सौर्य उर्जालाई माइक्रोवेबको माध्यमबाट पृथ्वीमा पठाउन सकिन्छ ।

पृथ्वीमा रात पनि हुन्छ र मौसमको बदलाव पनि हुन्छ । जसका कारणले गर्दा सौर्य ऊर्जा उत्पादन प्रभावित हुनछ । अन्तरिक्षमा चौबिसै घण्टा सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । यसको पछाडिको सोच यो पनि छ कि पृथ्वीमा जिवाश्व इन्धन केही समयपछि समाप्त हुनेछ । यस्तोमा अन्तरिक्षबाट स्वच्छ तथा सौर्य ऊर्जा ल्याउने कुरा एउटा राम्रो विकल्प बन्न सक्दछ।
यो एउटा आकर्षक विकल्प त हो नै तर यी स्रोत साधनहरुलाई कसले कति प्रयोग गर्न सक्दछ भन्ने मूल प्रश्न हो ।

सन् १९६७ मा भएको अन्तरिक्ष सम्झौताबाट कुनै पनि देशले अन्तरिक्षमा आफ्नो सार्वभौमिकताको दाबी नगर्ने कुराको सुनिश्चितता गरिएको थियो । अर्थात् यदि अमेरिका वा चीनले चन्द्रमाको अँध्यारो क्षेत्रमा बस्ती बसाले भनेपनि उनीहरुले त्यो क्षेत्रलाई आफ्नो स्वामित्व दाबी गर्न सक्दैनन् ।

तर वास्तविकता यसभन्दा फरक पनि हुनसक्छ । नम्रता गोस्वामीका अनुसार चन्द्रमाका श्रोतसाधनलाई समान रुपले प्रयोग गर्ने बारेमा कुनै पनि कानूनी व्यवस्था छैन, त्यसैले चन्द्रमामा जो देश सबैभन्दा पहिले पुग्नेछ, त्यसलाई नै फाइदा हुनेछ ।

यस्तोमा अब आगामी दिनमा सबैभन्दा पहिले चन्द्रमामा पाइला राख्न कुन देश सफल होला ? अब चन्द्रमामा पुग्ने कुरा केवल वैज्ञानिक उपलब्धिको श्रेयको कुरा मात्र होइन, यसले चन्द्रमाबाट सौर्य ऊर्जा प्राप्त गर्ने तथा त्यहाँ आधार अड्डा स्थापना गरेर अन्य ग्रहतर्फ खोजी मिसन प्रदान गर्ने अवसर प्रदान गर्नसक्छ।

वर्तमान अवस्थालाई हेर्दा लाग्छ कि अमेरिकाले सन् २०२८ मा पुनः चन्द्रमामा पाइला टेक्नेछ । त्यसको दुई वर्षपछि चीन अनि त्यसको दश वर्षपछि भारतले पनि चन्द्रमामा पाइला राख्नेछ।

बीबीसीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*