प्रदेश ३ का ७१ प्रतिशत नागरिक साक्षर

प्रदेश ३ का ७९ प्रतिशत पुरुष र ६४ प्रतिशत महिला साक्षर रहेको मन्त्रालयले जनाएको छ ।
जनपत्र
२२ भाद्र २०७६, आईतवार १०:५०

हेटौंडा / प्रदेश ३ का ७१ प्रतिशत जनता साक्षर रहेको दाबी गरिएको छ । सामाजिक विकास मन्त्रालयले तयार पारेको प्रारम्भीक पाश्र्वचित्रमा प्रदेश ३ का ५ वर्षमाथिका ७१ प्रतिशत जनता साक्षर रहेको उल्लेख छ । मन्त्रालयले हरेक क्षेत्रलाई समेटेर तयार पारेको पाश्र्वचित्रमा शैक्षिक अवस्था बारे विश्लेषण गरिएको छ । प्रदेशको शैक्षिक अवस्था प्रदेश ३ मा उच्च रहेको पाइएको छ । २०६८ को जनगणना अनुसार प्रदेश ३ का ७९ प्रतिशत पुरुष र ६४ प्रतिशत महिला साक्षर रहेको मन्त्रालयले जनाएको छ ।

पाश्र्वचित्रमा मन्त्रालयले साक्षर हुनेमा ५ वर्ष माथिका जनसंख्या मध्ये लेख्न र पढ्न जान्ने २९ लाख ४० हजार ९ सय ९४, पढ्नमात्र जान्ने ९३ हजार ४४, लेख्न र पढ्न नजान्ने १० लाख ९३ हजार ८ सय ५३ र साक्षरता उल्लेख नगरिएको १ हजार ७ सय ६४ रहेको जनाएको छ ।

पढ्न र लेख्न दुबै जान्नेमा पुरुषको संख्या बढी रहेको छ । मन्त्रालयका अनुसार पढ्न र लेख्न जान्नेमा पुरुष १५ लाख ५३ हजार ९ सय ६०, महिला १३ लाख ७ हजार ३४, पढ्न मात्र जान्ने पुरुष ४४ हजार १ सय ५, महिला ४ हजार ९ सय ३९ र पढ्न र लेख्न नजान्ने पुरुष ३ लाख ६१ हजार ४ सय ९७, महिला ७ लाख ३२ हजार ३ सय ५६ रहेका छन् ।

निम्न मावि तहको शिक्षा लिने सबैभन्दा बढी

प्रदेश ३ का साक्षर जनसंख्या मध्ये निम्न माध्यमिक विद्यालय तहको शिक्षा लिने सबैभन्दा बढी रहेका छन् ।
मन्त्रालयका अनुसार प्रारम्भीक शिक्षादेखि स्नात्तकोत्तर वा सोभन्दा माथि मध्ये सबैभन्दा बढी निम्न माध्यमिक विद्यालय तहमा ६ लाख ९३ हजार १ सय १० जना रहेका छन् । सबैभन्दा कम स्नात्तकोत्तर वा सोभन्दा माथि शिक्षा लिने ९३ हजार ३ सय ४१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश ३ मा प्राथमिक ११ लाख ९१ हजार ७ सय ५, माध्यमिक ४ लाख ३२ हजार ७ सय ९६, एसएलसी ४ लाख ७८ हजार ४ सय ८९, प्रविणता प्रमाणपत्र ४ लाख ११ हजार ९ सय ४९ र स्नातक तह उत्तीर्ण गर्ने २ लाख २२ हजार २ सय ८१ जना रहेका छन् ।

स्नात्तकोत्तर उतीर्ण गर्ने महिला २७ हजार 

स्नात्तकोत्तर वा सोभन्दा माथि उतीर्ण गर्ने महिला प्रदेश ३ मा २७ हजार २ सय ८३ जना रहेका छन् । पुरुषको तुलनामा स्नात्तकोत्तर उतीर्ण गर्ने महिलाको संख्या ४१ प्रतिशत कमि रहेको छ । प्रदेश ३ का ६६ हजार ५८ जना पुरुषले स्नात्तकोत्तर उतीर्ण गरेका छन् । ३ हजार ८ सय ३२ जना महिलाले स्नातक उतीर्ण गरेको तथ्यांकमा उल्लेख छ । महिलाको तुलनामा ६० प्रतिशत बढी पुरुषले स्नातक उतीर्ण गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ लाख ३ हजार ४ सय ४९ जना पुरुषले स्नातक उतीर्ण गरेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा सुदीप शिवाकोटीले लेख्नुभएको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*