चीनको अध्ययन केन्द्र: जहाँ रोबोटले बनाउछ स्वादिलो कफी

जनपत्र
१३ फाल्गुन २०८०, आईतवार ०६:५९

सूचना प्रविधिको क्षेत्रमा चीनले मारेको छलाङ अब विश्व समुदायका लागि नयाँ होइन। कम्प्युटर र मोबाइल फोनको माइक्रो चिप उत्पादनमा चीनको बढ्दो पकड विश्वले बुझिसकेको छ।

तीव्र गतिमा आधुनिक प्रविधिको विकासमा छलाङ मारिरहेको चीनले कृषि उत्पादनमा पनि त्यसको प्रयोग बढाउँदैछ। कृषि उपजमा आफूलाई अब्बल सावित गर्ने क्रममा चीनले युन्नान प्रान्तलाई त्यसको केन्द्र नै बनाउँदैछ। चीनले कफी उत्पादनमा ब्राजिल, भियतनाम, इन्डोनेसिया, कोलम्बिया र इथियोपिया जस्ता देशलाई पछ्याउने क्रममा ठूलो लगानी गरिरहेको छ।

चीनले युन्नान प्रान्तको भाओसान सहरमा मात्रै कफी बिन उत्पादनका लागि ५२ वटा प्रशोधन केन्द्र र कारखाना खोलेको छ। ती अधिकांश केन्द्रमा कफी अरेबिका उत्पदान गर्ने गरिएको छ।

भाओसान सहरमै रहेको एक चर्चित उत्पादन केन्द्र हो, भाओसान अरेबिका कफी इन्डस्ट्रियल पार्क। जहाँ भाओसान सहरमा रहेका ५२ कफी बिन उत्पादन केन्द्रमध्ये १० वटा यही इन्डस्ट्रियल पार्कमा रहेका छन्।

२ वर्षअघि निर्माण पूरा भएको यो इन्डसट्रियल पार्कमा चीनले विश्वमा प्रयोग नभएका अत्याधुनिक र ठूला मेशिनहरू प्रयोगमा ल्याउँदैछ।

कतिपय मेशिनहरूलाई चीनले परीक्षणका क्रममा रहेको भन्दै अहिलेसम्म सार्वजनिक गरेको छैन। उक्त औद्योगिक पार्कमा अहिले दैनिक कफी बिनका विभिन्न १५ प्रकारका सामान उत्पादन हुन्छन्।

चीनमा उत्पादित भाओसान कफी अरेबिकालाई कयौँ युरोपियन, एसियन र अफ्रिकन देशहरूले उच्च प्राथमिकता दिएर खरिद गर्ने गरेका छन्।

यो पार्कभित्रका दुई दर्जन बढी ठूला भवनमा दैनिक ५ हजार कामदारले रोजगारी पाएका छन्। यो पार्कका अध्यक्ष हुन् ली चियाबो। उनी बाओसानको सबैभन्दा ठूलो कफी बिन इनेडस्ट्रियल पार्कको नेतृत्व गरेर चीनको उत्पादनलाई विश्व बजारमा पुर्‍याउन जुटिरहेका छन्।

कफी बिन उत्पादनमा चीनलाई शीर्ष पाँच देशभित्र ल्याउने योजनासहित खर्बौँ रूपैयाँ  लगानी गरिएको छ। लगानीअनुसार यो एकै पार्कले दैनिक १५० टन कफी बिनको कच्चा
पदार्थ उत्पादन गर्छ।

७० वर्षअघिदेखि कफी खेती थालेको चीनले तीन वर्षयता विश्वबजारमा आक्रमक उपस्थितिका लागि लगानी गरिरहेको छ। कफी उत्पादनबाट घाटा भोगिरहे पनि चीनले आन्तरिक खपतसँगै विश्व बजारमा पकड बनाउन अनेक रणनीति तय गरिरहेको छ।

उक्त औद्योगिक पार्कका अध्यक्ष ली चियाबो चीनले तीन वर्षभित्रै कच्चा कफी बिन बिक्रीमा छलाङ मारेको बताउँछन्। उनका अनुसार तीन वर्षयता चीनले १०० हजार टन कफी बिन स्थानीय र विश्वबजारमा बेचिसकेको छ।

अहिलेलाई कफी बिनको व्यापारमा घाटा व्यहोरे पनि लगानी बढाउँदै जाँदा विश्वबजारमा आफ्नो पकड बलियो हुने विश्वास चीनले लिएको छ।

‘हामी चीनको उच्च गुणस्तरीय कफी बिनलाई विश्वबजारमा पुर्‍याउँदैछौँ। युरोपेली देश, ल्याटिन अमेरिका तथा भियतनाम, दक्षिण कोरिया र अफ्रिकन देशमा पनि हाम्रो माग बढ्दो छ’, लीले भने, ‘हाम्रा औद्योगिक पार्कमा उत्पादन पनि तीव्र गतिमा बढिरहेको छ। हामीले कफी अरेबिका, कफी लिबेरिका र कफी रोबस्तासहितका बिनलाई अहिलेको विश्व बजारमा पकड बनाइरहेका देशसँग प्रतिस्पर्धा गर्ने गरी लैजाँदैछौँ।’

रोबोटले बनाउँछ कफी 
उक्त औद्योगिक पार्कनजिकै छ कफी एसोसियसन युन्नानको कार्यालय। जहाँ पुरातात्विक शैलीमा दुई दर्जनबढी आकर्षक घरहरू एकै आकारमा बनाइएका छन्। उक्त एसोसियसनको कार्यालयमा कफी बनाउन रोबोट राखिएको छ। जसलाई बनाएको हो प्रविधिमा विश्व चर्चित चाइना मोबाइलले।

चाइना टेलिकमले तीन लाख चिनियाँ युआन खर्चेर तयार पारिएको उक्त चिटिक्क परेको रोबोटले त्यहाँ पुग्ने अतिथिहरूलाई कफी बनाएर स्वागत गर्छ।

उक्त रोबोटले आगन्तुकलाई उनीहरुको स्वादअनुसारको ब्ल्याक कफी बनाएर स्वागत गर्छ। अध्यक्ष लीका अनुसार कफी उत्पादनमा अत्याधुनिक प्रविधिलाई जोड्ने क्रममा चाइन मोबाइलले उक्त रोबोट बनाएको हो।

बेइजिङस्थित उक्त कम्पनीले कफी बनाउने यस्ता दर्जन बढी रोबोट बनाएको छ। अहिले ती रोबोटलाई चीनले परीक्षणका क्रममा विभिन्न ठाउँमा प्रदर्शनीमा राखेको छ।

प्रदर्शनीका क्रममा रहेका ती रोबोटले अहिले आफूले बनाएको कफी सर्भ भने गर्दैनन्। ‘कफी उत्पादनमा प्रविधिलाई जोड्दै लाने क्रममा रोबोटलाई पनि उपयोग गरेका हौँ। यो रोबोटले आगन्तुकको अर्डरअनुसार तत्कालै स्वादिलो कफी बनाइदिन्छन्,’ उनले भने, ‘परीक्षण प्रक्रिया सकिएपछि यो रोबोटले आफूले बनाएको कफी सर्भ पनि गर्न तयार हुनेछन्।’

नेपालखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*