कामवासनालाई कसरी बुझ्ने ?

जनपत्र
६ फाल्गुन २०८०, आईतवार ०६:१३

मनोविज्ञानका पिता सिग्मन्ड फ्रायडले प्रतिपादन गरेको मनोविश्लेषणको सिद्धान्त सन् १८९० को दशकपछाडि ज्यादै चर्चामा आयो । उनले खास गरेर मानिसमा विकसित हुने कामवासना वा लिबिडोको सम्बन्धमा त्यति बेलाको समाजलाई तरङ्गित बनाउने विचार प्रस्तुत गरे । उनको त्यस विचारको प्रशंसा र आलोचना दुवै भयो ।

उनले आफ्नो सिद्धान्तको वकालत गर्ने सन्दर्भमा यतिसम्म तर्क प्रस्तुत गरे कि मानिसको कामवासनाको चाहना बाल्यावस्थादेखि नै विकसित हुन्छ, जुन चाहना पूरा हुन सकेन भने अचेतन मनमा गएर बस्छ र त्यसले व्यक्तिको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण प्रभाव पार्छ । मानिसको व्यक्तित्वको चर्चा गर्ने सन्दर्भमा उनले व्यक्तित्वको संरचनामा इड, इगो र सुपरइगोको चर्चा गरे । कामवासनाको चाहनालाई भने ‘इड’ वा जैविक आवश्यकताको पोल्टामा राखिदिए ।

फ्रायड कामवासनालाई सिद्धान्तमा राखेर व्याख्या गर्ने पहिलो मनोवैज्ञानिक हुन् तर उनीभन्दा धेरै अगाडिदेखि यससम्बन्धी चर्चा–परिचर्चा समाजमा हुने नै गरेको इतिहास पाइन्छ । प्राचीन दार्शनिक प्लेटोले यौनलाई मानसिक आनन्दको रूपमा व्याख्या गरे भने दार्शनिक सुकरातले पनि यौनलाई मानसिक आनन्दकै रूपमा व्याख्या गर्दै जुन समाज स्वीकार्य हुनुपर्ने तर्क पेस गरे । रुसोले प्राकृतिक घटना वा क्रियाकलापका रूपमा यौनलाई परिभाषित गरे भने मास्लोले आधारभूत वा जैविक आवश्यकताका रूपमा व्याख्या गरे । वैदिक धर्मग्रन्थ र वेदले धर्म, अर्थ, काम, मोक्षलाई मानव जीवनको उद्देश्य मानेर यौनलाई मानिसको जीवनको उद्देश्यका रूपमा परिभाषित गरे । बाइबलले यौनलाई भगवानको असल सिर्जनाका रूपमा व्याख्या गर्दै महिला–पुरुषको विवाहपछिको आनन्दका रूपमा परिभाषित गर्‍यो । इस्लाम धर्मग्रन्थ कुरानले यौनलाई विवाहपश्चात् श्रीमान तथा श्रीमतीबिच हुने वैधानिक सम्बन्धका रूपमा व्याख्या गर्‍यो । बौद्ध धर्मले यौनलाई आनन्दका रूपमा भन्दा पनि स्वाभाविक क्रियाका रूपमा व्याख्या गर्दै त्यसमा केही बन्देजहरू खडा गर्‍यो ।

धर्म, दर्शन तथा मनोविज्ञानको क्षेत्रमा यौनलाई विभिन्न तरिकाले व्याख्या गरिएको पाइन्छ । यौन मानव जीवनको स्वाभाविक, प्राकृतिक, जैविक, स्वच्छन्द विषय हो, जसले आनन्द प्रदान गर्छ भन्नेमै अधिकांश सहमत रहेको थाहा हुन्छ । यौनका सम्बन्धमा प्राचीन परिभाषा र आधुनिक परिभाषामा धेरै परिवर्तन आएका छन् । चासो सबैको छ, तर अभिव्यक्त गर्न लाज छ । आवश्यकता सबैलाई छ, तर सामाजिक मान्यता र मानवीय नैतिकताको बन्धन छ । यी र यस्तै अन्तद्र्वन्द्वका बिचमा यौनलाई परिभाषित गर्नु आधुनिक समाजको आवश्यकता हो भन्नु उचित हुन्छ ।

  • यौन जीवनका आधारमा वर्गीकरण

काम वासनाका आधारमा संसारमा तीन किसिमका मानिस छन्— भोगी, जोगी र रोगी । भोगी ती मानिस हुन् जसले यौनलाई स्वाभाविक रूपमा लिन्छन् । यौन आवश्यकतालाई सजिलै व्यक्त गर्न सक्छन् । यौनलाई मानव जीवनको उत्प्रेरणा र ऊर्जाको रूपमा लिन्छन्, कामवासनालाई आफ्नो कमजोरी नभई ताकत ठान्छन्, मानव जीवन र जगत्लाई सुन्दर देख्छन्, यस्ता भोगी मानिसले नै मानव समाजलाई प्रगतिको दिशामा डोर्‍याउँदै यहाँसम्म ल्याएका छन् ।

महिला र पुरुषको यौन जीवनमा भिन्नता छ, दुवैको कामवासनाको बुझाइ र भोगाइमा अन्तर छ । महिलाको कामवासनाले ज्यादा मात्रामा अनुराग, रोमान्स खोज्छ भने पुरुषको कामवासना ज्यादा मात्रामा वीर्य स्खलनसँग जोडिन्छ ।

अर्काथरी केही मानिस जोगी छन् । त्यस्ता मानिसले आफ्नो सम्पूर्ण ताकत लगाएर कामवासनालाई दबाएर राख्ने प्रयास गर्छन् । यौनलाई अपवित्र र अमर्यादित ठान्नेहरू पनि यसमा पर्छन् । यस्ता मानिसले आम मानिसलाई अराजक ठान्छन् । आफूमा सिर्जित कामवासनालाई नियन्त्रण गर्न अनेक हर्कत गर्ने जोगीहरू भोगी मानिसको डाह र रिसले जलेर अनेक प्रवचन सुनाउँदै यो संसारको स्थायी रूपमा बन्ध्याकरण गराउन चाहन्छन् ।

तेस्रो थरी मानिसहरू रोगी छन् । यसमा हर्मोनको डिसअर्डर भएका मानिस पनि पर्छन्, जसको उपचार हुन सक्छ । खासगरी यौनका मामिलामा ती मानिसलाई रोगी मान्न सकिन्छ, जसले कामवासनालाई विभिन्न आयाममा बुझेका हुँदैनन् । यस्ता व्यक्तिले आफ्नोभन्दा अरुको यौन जीवनमा चासो राख्छन् ।

यसरी हेर्दा आफ्नो जीवनसँगै संसारलाई बदल्ने ताकत भोगीहरूले राख्छन् । उनीहरूमा सिर्जित त्यो ताकतलाई कामवासनाले निर्देशित गरेको हुन्छ । त्यस्तै जोगीहरूले सांसारिक जीवनलाई आलोचनात्मक रूपमा व्याख्या गरिरहेका हुन्छन् भने रोगीहरूले नकारात्मक रूपमा सांसारिक जीवनलाई प्रतिकार गरिरहेका हुन्छन् ।

  • शारीरिक कि मनोवैज्ञानिक आवश्यकता ? 

आजसम्म विकसित भएका यौनसम्बन्धी अधिकांश अवधारणाले शारीरिक आवश्यकताको रूपमा यौनलाई लिएको देखिन्छ । मानव जीवनका पछिल्ला दिनको यौन जीवनलाई हेर्ने हो भने यसलाई शारीरिक आवश्यकता भन्दा मनोवैज्ञानिक आवश्यकताको रूपमा व्याख्या गर्दा उपयुक्त हुने देखिन्छ । आधुनिक मानिसले यौनलाई आफ्नो मनोवैज्ञानिक आवश्यकताका रूपमा अभ्यास गर्दै आएको देखिन्छ । शारीरिक आवश्यकताले यौनलाई भोग्य वस्तुको रूपमा हेर्छ भने मनोवैज्ञानिक वा मानसिक आवश्यकताले मनोरञ्जनका रूपमा ।

प्राचीन युगमा पनि मानिसले विवाहका लागि सुन्दर जोडी खोज्थे भन्ने कुरा इतिहासको अध्ययनबाट थाहा लाग्छ । यसले यौनलाई मनोवैज्ञानिक आवश्यकता हो भन्ने गतिलो तथ्य पेस गर्दछ । त्यति बेलाका राजा–महाराजाले थुप्रै विवाह गर्ने प्रचलन पनि मनोवैज्ञानिक आवश्यकतासँग जोडिन्छ । प्रेमले निम्त्याएका युद्धदेखि राज्य विभाजनका कथा पनि मनोवैज्ञानिक आवश्यकतासँग जोडिन्छन् । गौतम बुद्ध विवाहपश्चात् नै सन्न्यासी जीवनमा लागेका थिए । विश्वप्रसिद्ध नेता, कलाकार, खेलाडी, लेखकदेखि सन्त–महन्तसम्मलाई यौनको बात लागेको घटनाहरूको फेहरिस्तले झन् यसलाई शारीरिकभन्दा मनोवैज्ञानिक आवश्यकता हो भन्ने कथनको नजिक पुर्‍याउँछ ।

पछिल्लो समयको बढ्दो सामाजिक सञ्जालको विकास र प्रयोगले मानिसका मनोवैज्ञानिक आयाममा व्यापक परिवर्तन आएको देखिन्छ । मान्छेको मनस्थिति दिन प्रतिदिन चञ्चल र उत्तेजक बन्दै गइरहेको अवस्था पनि छ । व्यक्तिमा निहित कामवासनालाई विभिन्न माध्यमबाट अभिव्यक्त गर्न खोजिएको देखिन्छ । कामुक भिडियोहरू नै टिकटिकमा सबैभन्दा धेरै हेरिन्छन् । फेसबुक, इन्स्टाग्राम लगायत विभिन्न सामाजिक सञ्जालमा कामुक तस्बिर राख्नेकै सबैभन्दा धेरै साथीहरू भएको देखियो । यस्तै, अश्लील भिडियोमै मानिसको बढी रुचि देखिन्छ ।

संसारका कतिपय देशले यौन व्यवसायलाई वैधानिक रूपमा सञ्चालन गर्दै आएका छन् भने लगभग सबै देशहरूमा लुकिछिपी यौन व्यवसाय सञ्चालनमा छन्, जहाँ यौनलाई अवैध मानिन्छ । सामाजिक सञ्जालमा होस् या यौन बजारमा भेटिने अधिकांश मानिस वैवाहिक जीवनमा रहेकाहरू नै हुन्छन् । यी र यस्ता परिदृश्यले यौनलाई शारीरिक आवश्यकता भन्दा मानसिक तथा मनोवैज्ञानिक आवश्यकता हो भन्ने कुरामा जोडबल गर्दछ ।

  • यौन निरंकुश कि स्वतन्त्र? 

कामवासनालाई जति दबाउन खोज्यो, त्यो त्यति धेरै विकसित र विस्फोटित भएर आउँछ भन्ने तर्क सिग्मन्ड फ्रायड राख्छन् । उनको तर्क छ, बाल्यकालको दमित यौनचाहनाले व्यक्तिको व्यक्तित्वको संरचनामै असर पार्छ । दार्शनिक रुसोले यौनलाई प्राकृतिक, स्वतन्त्र र स्वच्छन्द हो भन्ने जिकिर गर्छन् । ओशोको विचारमा यौन मानव जीवनको सामान्य दैनिकीजस्तै हो । कार्ल माक्र्सले यौनलाई पुँजीवादसँग जोडेका छन् भने हेगलले मानसिक अन्तद्र्वन्द्वका रूपमा परिभाषित गरेका छन् । बीपीले नरेन्द्रदाइ उपन्यासमा यौनलाई मनोवैज्ञानिक आवश्यकता हो भन्नेतर्फ संकेत गरेका छन् ।

प्राकृतिक र स्वतन्त्र नबनी गरेको यौन क्रियाकलापबाट कुनै पनि व्यक्तिले पूर्ण सन्तुष्टि अनुभूति गर्न सक्दैन । त्यस्तो प्राकृतिक र स्वतन्त्र क्रियाकलाप व्यक्तिको मनोवैज्ञानिक आवश्यकतासँग जोडिन्छ ।

जसले जे अर्थ लगाए पनि यौन कदापि निरंकुश हुन सक्दैन । यौन एक स्वतन्त्र सम्बन्ध हो । कामवासनामा मानिसले प्राकृतिक स्वतन्त्रता चाहन्छ । जीवनमा कहीँकतै खुल्न नसकेको व्यक्ति यौनमा खुल्छ । जसलाई यौन कार्यमा खुल्ने अवसर प्रदान गरिँदैन, त्यस्तो व्यक्तिको दमित यौन चाहना अचेतन मनमा गएर बस्छ, जसको फलस्वरूप व्यक्तिले सपनाका माध्यमबाट होस् या अन्य कुनै तरिकाबाट यौन आनन्दको प्राप्ति गर्दछ ।

प्राकृतिक र स्वतन्त्र नबनी गरेको यौन क्रियाकलापबाट कुनै पनि व्यक्तिले पूर्ण सन्तुष्टि अनुभूति गर्न सक्दैन । त्यस्तो प्राकृतिक र स्वतन्त्र क्रियाकलाप व्यक्तिको मनोवैज्ञानिक आवश्यकतासँग जोडिन्छ । मनोवैज्ञानिक रूपमा पनि व्यक्ति एक प्राकृतिक र स्वतन्त्र प्राणी हो । हाम्रो समाजको मूल्य–मान्यताका कारण व्यक्तिको अधिकांश समय औपचारिकतामा रुमलिएको छ । मानिसको जन्मजात स्वभाव भने प्राकृतिक स्वतन्त्रता र स्वच्छन्दता हो । प्राकृतिक र स्वतन्त्र यौन चाहनालाई जति दबाउन खोजियो, त्यति नै व्यक्तिमा कुण्ठा सिर्जना हुन्छ र त्यसले व्यक्तिलाई मनोरोगी बनाउँछ ।

  • महिला र पुरुषको यौन चाहना

सिग्मन्ड फ्रायडले आफ्नो जीवनकालको अन्तिमतिर भनेका छन्, ‘मैले जीवनभर महिलाका बारेमा अध्ययन गरेँ, तर महिलाले वास्तविक रूपमा के चाहन्छन् भन्ने बुझ्न सकिनँ ।’ फ्रायडको यस कथनलाई महिलाको लिबिडोसँग जोडेर हेर्न सकिन्छ । यौनक्रीडाको सम्बन्धमा पुरुष केही हदसम्म निरंकुश छ भने महिला पूर्ण रूपमा प्राकृतिक स्वतन्त्र सम्बन्ध राख्न चाहन्छन् । महिलाको कामवासनाको सम्बन्धमा पुरुषले केही भ्रम बोकेका छन्, त्यस्तो भ्रमका कारणले पुरुष आफ्नो सन्तुष्टिलाई महिलाको पनि सन्तुष्टि हो भन्ने बुझ्छन् । अधिकांश पुरुषमा यो पनि भ्रम हुन सक्छ, आफूसँगको सहवासमा महिला पूर्ण सन्तुष्ट छन् । यी र यस्ता भ्रमले आधुनिक समाजमा श्रीमान् र श्रीमतीबिचमा विविध खालका समस्या सिर्जना गरिरहेको छ ।

वैवाहिक जीवनका धेरै आयाम हुन्छन्, श्रीमान–श्रीमतीबिचको सम्बन्धका विविध पक्षहरूमध्ये यौन सम्बन्ध पनि ज्यादै महत्त्वपूर्ण र वैवाहिक सम्बन्धलाई सुमधुर र जीवन्त बनाउने सम्बन्ध हो ।

सामाजिक जीवनका अन्य क्षेत्रहरूमा जस्तै पुरुषले महिलाको कामवासनामा पनि दमनको रणनीति अख्तियार गरेको छ । बाल्यावस्थादेखि जीवनको अन्तिम अवस्थासम्म महिलाको यौन जीवनलाई समाजले विभिन्न तरिकाले दमन गरिरहेको हुन्छ । पुरुषले त्यस्तो भ्रम बोकिरहेका छन् कि महिलाभन्दा आफू कामवासनामा धेरै आक्रामक र शक्तिशाली छु । त्यति मात्र होइन, पुरुषमा त्यो पनि गलत अवधारणा निर्माण भएको छ कि आफू सन्तुष्ट हँुदै गर्दा आफ्नो पार्टनर पनि सन्तुष्ट हुन्छिन् । पुरुषको सन्तुष्टिको सीमारेखा वीर्यको पतनसम्म मात्र जान्छ भने महिलाले एकपटकको समागमका दौरानमै मल्टिअर्गाजम् अर्थात् अनगिन्ती चरमसुख अनुभव गर्न सक्छन् ।

वैवाहिक जीवनका धेरै आयाम हुन्छन्, श्रीमान–श्रीमतीबिचको सम्बन्धका विविध पक्षहरूमध्ये यौन सम्बन्ध पनि ज्यादै महत्त्वपूर्ण र वैवाहिक सम्बन्धलाई सुमधुर र जीवन्त बनाउने सम्बन्ध हो । जब श्रीमान्–श्रीमतीबिचको यौन सम्बन्ध प्राकृतिक, स्वतन्त्र, स्वच्छ हुन्छ, कामवासना वा लिबिडोको भरपूर प्रयोग हुन्छ, त्यसले दाम्पत्य जीवनका अन्य विविध सम्बन्धलाई बलियो बनाउँछ । आधुनिक समयमा मानिसका विविध इच्छा र चाहनासँगै यौन जीवनमा पनि इच्छा र चाहना असीमित बन्दै गइरहेका छन् । जस कारण पछिल्ला दिनमा वैवाहिक सम्बन्धमा विविध खालका समस्या आइरहेका छन् । सम्बन्ध विच्छेदको समस्या होस् या विवाहेतर सम्बन्ध होस्, दाम्पत्य जीवनमा देखिएको यौन विचलन पनि यसको कारक हुन सक्छ । त्यसैले दम्पतीबिच यौन जीवनका बारेमा खुलस्त र स्पष्ट संवाद हुन आवश्यक छ । जब पुरुषले महिलाको लिबिडोमा दमन, हस्तक्षेप वा बेवास्ता गर्दछ, त्यसबाट अप्रत्यक्ष रूपमा वैवाहिक जीवनमा अनेकौँ समस्या आइपर्छन् ।

कामवासना मानव जीवनको ज्यादै महत्त्वपूर्ण र रहस्यमय पक्ष हो । यौन शारीरिकभन्दा धेरै मनोवैज्ञानिक आवश्यकता हो । मानव कामवासनाले सधैँ स्वतन्त्रता, स्वच्छन्दता र प्राकृतिकपन खोज्छ । कामवासनालाई जति दबाउन खोज्यो, त्यति नै विकसित र परिष्कृत भएर आउँछ ।

महिला र पुरुषको यौन जीवनमा भिन्नता छ, दुवैको कामवासनाको बुझाइ र भोगाइमा अन्तर छ । महिलाको कामवासनाले ज्यादा मात्रामा अनुराग, रोमान्स खोज्छ भने पुरुषको कामवासना ज्यादा मात्रामा वीर्य स्खलनसँग जोडिन्छ । वैवाहिक जीवनलाई व्यवस्थित र सन्तोषपूर्ण बनाउनु भनेकै दम्पतीबिचको यौन जीवन सुखद बनाउनु हो । यौनलाई मनोवैज्ञानिक आवश्यकता पनि हो भनेर बुझियो भने त्यहीअनुरूप यौन व्यवहार गरिन्छ । यसरी कामवासनाको उचित व्यवस्थापन हुन सक्छ र दाम्पत्य जीवन सुखद हुन सक्छ । : रातोपाटीबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*