विश्वकप छनोटमा नेपालको लज्जास्पद हार, कुवेत ७-० ले विजयी

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगितामा नेपालले अत्यन्त्य खराब सुरुवात गरेको छ। नेपाललाई बिहीबार राति भएको खेलमा कुवेतले ७-० गोलले पराजित गरेको हो।
सन् १९८० को एएफसी एसियन च्याम्पियन कुवेतविरुद्ध उसैको घरेलु मैदानमा नेपालले पहिलो हाफमा २ गोल खाएको थियो भने दोस्रो हाफमा ५ गोल बेहोरेको थियो। कुवेतका लागि नासेरले दुई गोल गरे। उनले खेलको छैटौं मिनेट र ५० मिनेटमा गोल गरेका थिए। यस्तै अल हजारीले १३, अल मुताइरीले ५९ र अल मोटावाले ६७ मिनेटमा गोल गर्दा नेपाल निरिह सावित भयो।
नेपालले थप २ गोल दोस्रो हाफको इन्जुरी टाइममा खायो। अबुजाबारजले इन्जुरी टाइमको चौथो र अलमोसारीले इन्जुरी टाइको सातौं मिनेटमा गोल गरेका थिए। खेलको सुरुवातदेखि नै नियन्त्रण गुमाएको नेपाल खेल अवधिभर दबाबमा थियो।
खेलमा नेपालका प्रशिक्षक योहान कालिनले विमल घर्तीमगरलाई मात्र फरवार्डमा खेलाएका थिए। मिडफिल्डमा रवी पासवान, विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ र विशाल राई गरी पाँच जनालाई खेलाएका थिए।
गोलकिपर किरण चेमजोङको कप्तानी उत्रिएको नेपालका लागि अजित भण्डारी, सुमन आर्याल, अनन्त तामाङ र देवेन्द्र तामाङले डिफेन्डरको रुपमा जिम्मेवारी पाएका थिए। नेपाल पछिल्लो एक वर्ष जितबिहीन छ। नेपालले गत वर्ष भएको साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएपछि खेलेका ९ खेलमा जित निकाल्न सकेको छैन।
छनोटको समूह ‘बी’ रहेको नेपालले अब चार दिनपछि चाइनिज ताइपेहसँग खेल्नेछ। त्यसपछि नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ।