हरितालिका र ऋषिपञ्चमीको महत्व

जनपत्र
१७ भाद्र २०७६, मंगलवार ०६:०८

तीज पर्व भाद्र महिनाको शुक्ल पक्षको तृतीया तिथिबाट सुरु भई पञ्चमी तिथिमा टुंगिने हुँदा समयक्रममा तृतीयालाई तृय, तृयलाई तृजे तृजेबाट तीज उच्चारण भएको बताइन्छ । साथै तीजलाई हरितालिका पनि भनिन्छ । संस्कृत भाषामा हर् धातुले हरण गर्नु चोर्नु भन्ने बुझाउने कारणले पार्वतीले  आफ्नो इच्छाबमोजिम पति रोज्न नपाएको दुःखद अवस्थामा उनका साथीहरू जया, विजया आदिले पार्वतीलाई आफ्ना पिता हिमालयबाट हरण गरी हिन्द महासागरको कन्याकुमारी भन्ने स्थानमा लुकाउन सफल प्रयास गरेका हुँदा र आलिका (अलिं) शब्दले साथीलाई बुझाउने हुँदा साथीलाई सम्मान दिने उद्देश्यले समेत हरितालिका भनिएको बुझ्न सकिन्छ । देवी पार्वतीको ब्रत कथा तीज मूलतः हिन्दू नारीहरूको पर्व हो । यद्यपि, यो नारी केन्द्रित पर्व गैरहिन्दू नारीहरूले पनि उत्तिकै उल्लासका साथ मनाउने गर्छन् ।

धार्मिक हिसाबले तीजको महŒवपूर्ण पक्ष भनेको ब्रत हो । तर, त्यतिमै तीजको अन्य महŒवपूर्ण पक्षहरूलाई संकुचन गर्न मिल्दैन । किनभने तीजले धार्मिक, सामाजिक र सांस्कृतिक पर्वका रूपमा नेपाली समाजले अनादिकालदेखि अत्यन्त प्रेमपूर्वक अँगाल्दै आएको पर्व हो । यसका सामाजिक सांस्कृतिक पक्ष यति बलिया छन् कि तिनलाई अनदेखा गरेर तीज पर्व मनाउने कुरा सोच्न सकिँदैन । नेपाली समाजमा तीजलाई नारीमुक्ति दिवसका रूपमा पनि लिने गरिन्छ ।
नेपाल विकट भौगोलिक अवस्था भएको मुलुक हो । आज २१औं शताब्दीसम्म आइपुग्दा त नेपालमा एक ठाउँबाट अर्को ठाउँमा सहज रूपमा आवतजावत गर्न मुस्किल छ भने धेरै पहिलेको समयमा अझ कति कठिनाइ थियो होला, सहजै अनुमान गर्न सकिन्छ । त्यस्तो स्थितिमा बिहा गरेर गएका छोरी चेलीको आफ्नो माइतीघरसँग सम्पर्कविहीन भएर बस्नुपर्ने पीडादायी अवस्था थियो । वर्षमा कमसेकम एकपटक भए पनि माइतीघरसँग पुनर्मिलन हुने अवसर तीज पर्व थियो जसका लागि मनोवैज्ञानिक रूपमै घर र माइती दुवै प्रतिक्षारत हुन्थे । त्यही सांस्कृतिक पक्षको निरन्तरता आजसम्म पनि कायम छ । यद्यपि, समयको परिवर्तनसँगै भित्रिएको विकास र नौलो आधुनिक संस्कृति र विचारले त्यसमा केही प्रभाव पारेको देखिएको होस् ।

व्रत र धार्मिक अनुष्ठानको साथै तीज नारीका लागि माइतीसँगको भेटघाट मिष्ठान्न परिकार, सुन्दर बस्त्र, गहनाको पहिरन र नाचगानको पर्व हो । यी तीजका अभिन्न सामाजिक र सांस्कृतिक पक्ष हुन् । तीजका नारी भाद्र शक्ल द्वितीयादेखि पञ्चमी तिथिसम्म द्वितीयाको रातमा आआफ्नो रुचिअनुसार विशेष प्रकारका दरिलो अडिलो सात्विक खाना खाने, तृतीयामा निराहार बस्ने पार्वतीले महादेवलाई वर पाउन गरिएको अनुष्ठान र अडानलाई सम्झँदै बिहान सबेरै नदी वा पायक पर्ने जलाशयमा गएर नुहाउने, रातो सारी, सिन्दूर, चुरापोतेमा सजिएर पशुपति नाथ वा पायक पर्ने अन्यमहादेव स्थानमा गर्ई पूजा गर्ने र नाचगान गर्दै मनोरञ्जन गर्छन् । चौथीमा गणेशको विशेष पूजा र पञ्चमीमा अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदगनी, वशिष्ठ ऋषिको पूजागरी पवित्र ब्राह्मण र कन्यालाई दान दक्षिणा थमाउँछन् । पञ्चमीको दिनमा ३६५ गोटा अपामार्ग अर्थात् दत्युनले दाँत सफा गर्ने, बालुवाको शिवलिंग बनाई टाउका माथि चाल्नो, चाल्नोमाथि कलश अथवा घडा राखेर घडाको पानीले नुहाएर कपालको पानी बालुवाको शिवलिंगमा चुहाउँदै आआफ्नो श्रद्धा भक्तिले उमामहेश्वरको पूूजा गर्ने र त्यसपछि ब्राह्मण र कन्यालाई दानदक्षिणा दिने गर्छन् ।

ऋषिपञ्चमी सुरुहुने केही दिनअघि देखिनै महिला ‘तीजको रहर आयो बरीलै’ को थेगोमा विभिन्न लय चरणमा घरको बुहार्तन र अस्वस्थ बातावरण बिर्साउन ‘तीज मनाउनु माइती घरमा, दसैं मनाउनु आफ्नै कर्मघरमा’ भन्नेजस्ता गीतको भावमा नाच्दै रमाउने गर्छन् । तीजका गीतहरूमा प्रायः ‘बरीलै’ शब्द प्रकट गरिनु चाहिँ सानासाना बच्चाबच्चीको अप्रिय अवस्था ‘कठैवरा, कठै विचरा’को संज्ञाले सान्त्वना दिएजस्तै अर्थमा बुझ्न सकिन्छ । विवाहित नारीहरूले घरघरमा बुहार्तन र अव्यवस्था सम्झँदा माइती पक्षका तथा कुनै विशेष अवस्थाका अविभावकले ‘कठैवरा, कठैविचरा’ भनेकै सम्झनास्वरूप तीजमा घरबाट आउँदा, माइतबाट जाँदाको अवस्थालाई मायालु भावमा सम्बोधन गर्दा कठैबरीलै हुँदैे ‘बरीलै’ थेगो बन्न आएको हुन सक्छ ।
वर्तमानमा तीज पर्वलाई नारीहरूले धार्मिक पक्षको मान्यतालाई आत्मसात् गर्दै नारी स्वतन्त्रा र हकअधिकारको निमित्त आवाज बुलन्द पार्ने अवसरका रूपमा लिन थालेका छन् ।

साथै समाजमा देखिएको बेथिति भ्रष्टाचार, अन्याय, बलात्कार, नेता र उच्च पदमा बस्ने व्यक्तिहरूको व्यवहार आदि विषयमा कतै व्यंग्यात्मक त कतै आक्रामक रूपमा गीतमार्फत व्यक्त हुन थालेका छन् । काठमाडौंस्थित पशुपतिनाथलगायतका देशका विभिन्न स्थानका शिवमान्दिरमा सम्भव भएसम्म शिवलिंगको पूजासहित रातो पहेलो निलो बस्त्र, गरगहनामा सजिएर स्वस्फूर्त रूपमा नाचगान गर्दै त्यसैको सहारामा आआफ्ना दुःख र दबिएका भावना र विचारलाई अभिव्यक्त गर्छन् र चेतनाभित्र गुम्सिएर रहेको अव्यक्त पीडालाई अभिव्यक्त गर्छन्, रमाइलो र ठट्टा गर्छन् । एक किसिमको नारी जागरणको अवस्था त्यहाँ देखा पर्छ । विवाहित महिलाले माइतीको आँगनमा घरको बुहार्तन र दुःख बिसाउने पुराना गीत अब लोप भइसके भने पनि हुन्छ ।
समयको परिवर्तनसँगै चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन त आउँछ नै त्यसलाई अन्यथा लिनुहुँदैन । तर, परिवर्तनको नाउँमा कुनै पनि चाडको मूल संस्कृतिलाई नै प्रहार गर्ने गरी गरिने गतिविधिमा भने नियन्त्रण हुनैपर्छ । तीज पर्वको सन्दर्भमा पनि अनियन्त्रित किसिमको तडकभडक, भोजभतेर, उत्ताउलोपना पुरुषसँग मिलेर गरिने शृंगारयुक्त भड्किला गीत तथा नृत्य आदिमा भने नियन्त्रण आवश्यक छ ।

तीजका पुराना गीत घरपरिवार र समाजसँग बढी जोडिएका हुन्थे । जुन सामाजिक संरचना छ त्यही सामाजिक संरचनाभित्रका आशा, निराशा, कुण्ठा, पीडा आदि तिनमा व्यक्त हुन्थे । आजका तीज गीतले भने यथास्थितिबाट उम्किएर सामाजिक बन्धनबाट फुत्किएर महिलालाई नयाँ भूमिकामा स्थापना गर्न जोड दिन्छ । तर, त्यो भूमिका परिवारिक शान्ति र सद्भाव बिथोल्ने हदसम्म पुग्नुहुँदैन भन्ने कुरामा सजगता चाहीँ जरुर चाहिन्छ । त्यसैले गीतका शब्द चयन ध्यान दिनैपर्छ । यसका लागि पहिलो कुरा क्षणिक मनोरञ्जन र स्रोताको ध्यान खिच्नका लागि जथाभावी गीत गाउने होडबाजी बन्द गरिनुपर्छ । अर्कोकुरा पुरुष परनिर्भरताका गीत पनि आजकाल बग्रेल्ती सुन्न पाइन्छ । मेरा पुरुषले मनग्गे कमाउँछन् । त्यसैले म जति पनि खर्च गर्न सक्छु वा उसले दिएको चुरापोते गहना र महँगो साडी लाएर म राम्री देखिएकी छु भन्ने जस्ता परनिर्भरताका भाव बोकेका गीतले निश्चय नै महिला स्वाभिमानलाई संकुचित पार्छ । त्यसको सट्टा ‘नारीलाई घरभित्र थुन्ने चलन हट्यो बरिलै, मैले पनि पाल्न सक्छु मेरो आफ्नो पोइ’ जस्ता महिला आत्मनिर्भरताका गीत घन्कनुपर्छ ।
राजधानी डेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*