विश्वका अनौठा सजायः कार्टुन हेर्नेदेखि गधासँग परेड गर्ने सम्म

जनपत्र
५ पुष २०८०, बिहीबार ०६:१५

विश्वमा कसुरदारलाई उसको कसुरअनुसारको सजाय दिने चलन छ । सबैभन्दा धेरै प्रचलनमा जेल सजाय रहेको छ भने विश्वका केही देशहरुले मृत्युदण्डसमेत दिने गर्छन् ।

सजायहरु सुन्दैमा डरलाग्दा र दिक्क लाग्ने खालका हुन्छन्, जानेर वा नजानेर कुनै गल्ति गरेमा कानुनले मानिसलाई ती सजायहरु भोग्न बाध्य गराउँछ । तर, विश्वमा केही यस्ता सजायहरु प्रचलनमा छन्, जुन सुन्दा अनौठा  र रमाइला लाग्ने किसिमका छन् ।

एक शिकारीलाई एक वर्षसम्म जेलमा बसेर महिनामा कम्तिमा पनि एक पटक डिज्नीको बाम्बी कार्टुन हेर्नुपर्ने सजाय दिइयो । अमेरिकाको मिसौरीमा बस्ने डेविड बेरीलाई केही हरिणको शिकार गरेको आरोपमा जेलसँगै कार्टुन हेर्नुपर्ने सजाय सुनाइएको थियो ।

कार्टुन हेरेर डेविडको सोच बदलिन्छ कि बदलिँदैन्, त्यो त भन्न सकिँदैन् । तर यस्तो सजाय पाउने डेविड मात्रै पहिलो व्यक्ति होइनन् ।

२००३ मा शिकागोका दुई सैनिकलाई क्रिसमसको पूर्वसन्ध्यामा चर्चबाट बाल इसा मसिहको मूर्ति चोरेर नोक्सान पुर्याएको अभियोगमा ४५ दिनको जेल सजायसँगै आफ्नो गृहनगरमा गधासँग परेड गर्नुपर्ने सजाय सुनाइएको थियो ।

जेसिका लन्ग र ब्रायन प्याट्रिक त्यतिबेला १९ वर्षका थिए । उनले गधासँग मार्च गरेको एक पोस्टरसँगै राख्न पर्ने थियो, जसमा लेखिएको थियो, ‘बेवकुफी अपराधका लागि खेद छ ।’

ओकलाहोका एक हाइस्कुल छात्र साथीको हत्या गरेको आरोपमा दोषी प्रमाणित भए तर उनी जेल जानबाट बचे ।

२०११ मा १७ वर्षका टाइलर एलरेडले मदिरा सेवन गरेर गाडी चलाइरहेका थिए, जसका कारण भएको दुर्घटनामा उनका साथीको मृत्यु भयो । ती छात्रलाई जेल नजाने हो भने स्कुल र विश्वविद्यालयको पढाई सक्नुपर्ने, वर्षभरी लागूपदार्थ र मदिरा र निकोटिन जाँच गर्नुपन र १० वर्षसम्म चर्च जानुपर्ने सजाय सुनाइयो ।

स्पेन एन्डालुसियाका एक युवकले आफ्ना बुबाआमाले पकेट मनी बन्द गरेको भन्दै अदालतमा उजुरी गरेका थिए । २५ वर्षीय युवक आफ्ना बुबाआमासँग महिनामा ३५५ पाउन्ड को माग गरिरहेका थिए । मलागाको एक अदालतले ती युवकलाई ३० दिनभित्र बुबाआमाको घर छोड्नुपर्ने र जागिर खोज्नुपर्ने सजाय सुनायो ।

त्यस्तै, २००८ मा एन्ड्रयु वेक्टरलाई आफ्नो कारमा चर्को आवाजमा संगीत सुनेको मुद्दामा १२० पाउन्ड जरिवाना लगाएको थियो ।

न्यायाधीशले उनको जरिवानाको रकम घटाएर ३० पाउन्ड कायम गर्ने तर वेक्टरले २० घन्टासम्म बिथोवन, बाख र सोपेनका शास्त्रीय संगीत सुन्नु पर्ने फैसला गरे । जजले वेक्टरलाई मन नपर्ने गीत सुन्दा कस्तो हुन्छ भनेर सम्झाउनलाई यस्तो सजाय सुनाएको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*