चन्द्रमापछि सूर्यतर्फ यान पठाउँदै भारत

जनपत्र
१६ भाद्र २०८०, शनिबार ०६:३२

चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भारतले सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पनि सुरु गरेको छ। अन्य प्राविधिक समस्या नआए शनिबार (आज) त्यहाँ अन्तरिक्ष यान पठाउने तयारीमा भारत रहेको बीबीसीले उल्लेख गरेको छ।

‘भारतको योजना अन्तरिक्षमा आधारित एउटा यान त्यता प्रक्षेपण गर्नु हो,’ बीबीसीमा भनिएको छ, ‘जस्ले पृथ्वीको सबैभन्दा नजिकको तारा पनि भनिने सूर्यको अनुगमन र अनुसन्धान गर्न सकोस्।’ यस्तो भारतको पहिलो अन्तरिक्ष अभियानले नजिकबाट सौर्य आँधीजस्ता अन्तरिक्ष मौसमी गतिविधिहरूको अध्ययन गर्नेछ।

सूर्यको अध्ययन गर्ने त्यो नितान्त पहिलो अन्तरिक्ष अभियान भने होइन। नासा र युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले त्यस्तो उद्देश्यका साथ पहिले नै सूर्यको परिक्रमा गर्ने यान पठाइसकेका छन्। तर, भारतको यो पछिल्लो अन्तरिक्ष अभियानका केही अर्थमा विशिष्ट गुणहरू पनि छन्।

सबै योजनाअनुसार नै भएमा उक्त अन्तरिक्ष यान शनिबार सेप्टेम्बर दुई तारिखमा स्थानीय समयअनुसार बिहानको ११:५० मा प्रक्षेपण गरिनेछ। भारतको चेन्नाईबाट सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटास्थित देशको अन्तरिक्ष यान प्रक्षेपणस्थबाट उक्त यानलाई अन्तरिक्षमा पठाइनेछ। भारतीय अन्तरिक्ष निकायले सार्वजनिक गरेका तस्बिरहरूमा प्रक्षेपण केन्द्रको ‘लन्च प्याड’ मा अन्तरिक्षमा परिक्रमा गर्ने यान बोकेको रकेट पूर्ण रूपमा तयार अवस्थामा देखिन्छ।

अन्तरिक्षमा पठाइने यान खासमा हाम्रो सबैभन्दा नजिकको तारा, सूर्यमा पुग्ने होइन। त्यसको गन्तव्य पृथ्वीबाट १५ लाख किलोमिटर टाढा रहेको स्थान हो। त्यो भनेको पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा करिब चार गुणाले बढी दूरी हो। तर, त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै हो। सूर्य पृथ्वीबाट १५.१ लाख किलोमिटर टाढा छ। नासाले अन्तरिक्षमा पठाएको पार्करनामक यान एक हप्ताअघि मात्रै शुक्र ग्रहको नजिक भएर गएको छ र त्यो अन्ततः सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढाको बिन्दुसम्म पुग्नेछ।

भारतले पठाएको यानलाई आफ्नो गन्तव्यमा पुग्न केही समय लाग्नेछ। यसको नाम आदित्य एल वान राखिएको छ। आदित्यको अर्थ संस्कृतमा सूर्य हो। ‘प्रक्षेपण गरिएदेखि लाग्राञ्ज बिन्दु भनिने अन्तरिक्षको स्थानसम्म पुग्नका लागि यसलाई लाई करिब चार महिना लाग्नेछ,’ भारतको अन्तरिक्ष अनुसन्धान अर्गनाइजेसन (इसरो) ले एक्स (पहिलेको ट्विटर)मा लेखेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*