‘गदर २’को ओपनिङ ‘पठान’पछिकै उच्च, ‘ओएमजी २’को कति ?

जनपत्र
२८ श्रावण २०८०, आईतवार १४:४७

अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेल स्टारर फिल्म ‘गदर २’लाई यस वर्षको दोस्रो ठूलो ओपनिङ मिलेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन भारतमा ४० करोड १० लाखको ओपनिङ गरेको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् । यस वर्ष सबैभन्दा ठूलो ओपनिङ अभिनेता साहरुख खानको ‘पठान’लाई मिलेको थियो, जसको पहिलो दिनको कमाई नै ५७ करोड थियो ।

‘गदर २’को एडभान्स बुकिङ नै आक्रामक थियो । भारतका ठूला मल्टीप्लेक्समा २ लाख ५० हजार बढी टिकट बिक्री भएको थियो भने अरु मिलाएर ७ लाख टिकट बिक्री भएको भारतीय मिडियाले जनाएका छन् । ३० करोडसम्मको ओपनिङ प्रक्षेपण गरिएको भएपनि ‘डोर टू डोर’ टिकट आक्रामक बिक्री हुँदा कमाईमा बृद्धि हुन पुगेको हो । शनिबार फिल्मले ४५ करोड कमाउने देखिन्छ ।

‘गदर २’ले सनीको करिअरकै सबैभन्दा ठूलो ओपनिङ दिलाएको छ । ‘वर्ड अफ माउथ’ तगडा भएकाले फिल्मले भारतमै तीन सय करोडको आँकडा पार गर्न सक्ने प्रक्षेपण विश्लेषकहरुको छ । सनीको एक्सनलाई दर्शकहरुले रुचाएका छन् । यो फिल्मले उनको करिअर फेरि एकपटक उचाइँमा पुर्‍याउने देखिन्छ । अनिल शर्मा निर्देशित ‘गदर २’, सन् २००१ मा आएको ‘गदर’को सिक्वेल हो ।

‘गदर २’सँगै प्रदर्शनमा आएको अभिनेताद्वय अक्षय कुमार र पंकज त्रिपाठी अभिनीत फिल्म ‘ओएमजी २’ भने जबर्जस्त समीक्षाका बावजूद पनि कमाईमा कमजोर देखिएको छ । फिल्मले पहिलो दिन १० करोड २६ लाखको ओपनिङ गरेको छ । ‘गदर २’सँगको भिडन्तको असर फिल्मलाई परेको देखिन्छ । अमित रायद्वारा निर्देशित फिल्म भारतमा यौन शिक्षाको विषयलाई लिएर घुमेको छ ।एजेन्सी, मुम्बई

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*