मेसी, रोनाल्डो र भान डाइक वर्ष खेलाडीको अन्तिम तीनमा

युरोपेली फुटबल महासंघ (युईएफए)ले पुरुष वर्ष खेलाडीको अन्तिम तीन नाम सार्वजनिक गरेको छ । गत सिजनको प्रर्दशनका आधारमा युईएफएले अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । वर्ष खेलाडीको अन्तिम तीनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र भर्जिल भान डाइक छानिएका छन् ।
युभेन्ट्सबाट रोनाल्डो, बार्सिलोनाबाट मेस्सी र लिभरपुलबाट डाइकले अन्तिम सूचीमा नाम राखे। तर यसक्रममा लिभरपुलका साडियो माने र मोहम्मद सलाहा पछि परे। युईएफएले अगष्ट २९ मा अवार्ड विजेता खेलाडीको नाम सार्वजनिक गर्नेछ। युईएफएको गोल अफ दि ईयर विजेता मेस्सीले गत सिजन बार्सिलोनाबाट ५१ गोल गर्दै स्पेनिस लिगको उपाधि जिताएका थिए। यता युभेन्ट्समा डेब्यु सिजनमा २८ गोल गरेका रोनाल्डोले क्लबलाई सिरिए लिगको उपाधि जिताएका थिए। पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि जिताएका रोनाल्डो गत सिजन उत्कृष्ट फर्ममा थिए । लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका डाइकले डच टिमलाई नेसन्स लिगको फाइनलसम्म पुर्याएका थिए। लिभरपुल म्यानचेस्टर सिटीसँग १ अंकले पछि पर्दै उपविजेतामा सीमित भएको थियो।
एजेन्सी