निजगढ विमानस्थलमा लगानी गर्न ७ कम्पनी इच्छुक

बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी गर्न सातवटा अन्तर्राष्ट्रिय कम्पनी इच्छुक देखिएका छन्। लगानी बोर्डले गत चैत दोस्रो साता गरेको लगानी सम्मेलनमार्फत आवेदन माग गरेका प्रस्तावबाट सातवटा कम्पनीले आवेदन दिएका हुन्।
लगानी बोर्डले शो केसमा राखेकामध्ये सबैभन्दा आकर्षण लगानीकर्ताको रुचि बढी देखिएको आयोजनाका रूपमा निजगढ नै आएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई मंगलबार बोर्डले यस विषयमा प्रस्तुतीकरण दिएको थियो। विदेशी लगानीकर्तामा यो आयोजना बनाउन उत्साह भएको अधिकारीले बताए। उनका अनुसार यो विमानस्थल निर्माण गर्न चीन, भारत, फ्रान्स, स्विट्जरल्यान्ड र नेपालीसहितका कम्पनीले आवेदन दिएका छन्।