आजकै दिन : अमेजनबाट पुस्तक बिक्री
सन् १९९५ मा आजकै दिन (जुलाई १६) मा अमेरिकी इ–कमर्स कम्पनी अमेजनले अनलाइनमार्फत पहिलो पुस्तक बिक्री गरेको थियो । जेफ बेजोसले १९९४ को जुलाई ५ स्थापना गरेको अमेजनले एक वर्षपछि पहिलो पुस्तक बिक्री गरेको थियो ।
बुकस्टोरका रूपमा सुरु भएको अमेजन हाल विश्वकै दोस्रो ठूलो रिटेलर कम्पनी हो ।
१९६४ को जनवरी ११ मा जन्मिएका बेजोसले अमेरिकाको वासिङ्टनमा अमेजनको स्थापना गरेका थिए । कम्पनी सुरु गर्न उनले करिब दुई लाख पचास हजार अमेरिकी डलर लगानी गरेका थिए । अनलाइन बुक स्टोरका रूपमा सुरु भएको अमेजनले सेवा सुरु गरेको दुई महिनामै सबै अमेरिकी राज्य र अन्य ४५ देशमा सेवा दिएको थियो । त्योसँगै अमेजनले साताको २० हजार डलर बराबरका पुस्तक बिक्री गरेको थियो ।
बेजोसले सन् २०२१ देखि प्रमुख कार्यकारी अध्यक्षको पद त्यागेका थिए । हाल कार्यकारी अध्यक्ष रहेका बेजोससँग कम्पनीको १० प्रतिशतभन्दा केही कम सेयर छ । बेजोस वासिङ्टन पोस्ट र रकेट निर्माण कम्पनी ब्लु ओरिजिनलगायत कम्पनीका मालिकसमेत हुन् । बेजोस विश्वका धनीहरूको सूचीमा हाल तेस्रो स्थानमा छन् । फोर्ब्सका अनुसार उनीसँग हाल १५२।९ बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ । उनी २०१७ देखि २०२१ सम्म विश्वका धनीहरूको सूचीमा एक नम्बरमा थिए । उनी परोपकारी कार्यका लागि ठूलो रकम दान दिने धनाढ्यमा पर्छन् ।






