नेपालमा जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवा सुरु

जनपत्र
२५ श्रावण २०७६, शनिबार ०६:५०

नेपालमा जापानिज भाषा अध्ययनका लागि ई लर्निङ सेवा सुरु भएको छ। बिहीबारदेखि जापानिज भाषा अध्ययनका लागि ई– लर्निङ सेवाको औपचारिक सम्झौता भएको हो।

जापानस्थित  जापनिज  इन्स्टिच्युट अफ कलचर एण्ड इकोनोमिक्स  (जेआइसिई) का सिइओ नाकाता सुनिइची र नेपालका तर्फबाट लिङकन  इन्स्टिच्युट अफ मल्टिपल स्टडिज प्रालिका अध्यक्ष पुकार थापाले नेपालमा जापानिज भाषा अध्ययनका लागि ई–लर्निङ सेवाको औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै जेआइसिईका सिइओ नाकाता सुनिइचीले जापानमा अध्ययनका लागि तथा रोजगारीको खोजीमा थुप्रै युवा जाने गरेकाले नेपाली युवाहरुको सहजताका लागि ई–लर्निङ सेवा सुरु गर्न लागिएको बताए। ‘जापानमा जाने नेपाली युवाहरु भाषा अध्ययन गरेर गए पनि कन्भरसेसन गर्न सक्दैनन्, कतिपय त भाषा पढेर गए पनि राम्रोसँग बुझ्न सक्दैनन्, त्यस्तो समस्या समाधानका लागि हामीले ई–लर्निङ सेवा सुचारु गर्न लागेका हौँ,’ उनले भने।

सिइओ सुनिइचीका अनुसार ई–लर्निङमार्फत अध्ययन गरेका विद्यार्थी तथा कामदारहरुले जापानमा सामान्य बोलिचालीको भाषा राम्रोसँग बुझ्न र बोल्न सक्दछन्। ई–लर्निङमार्फत पढेर, सुनेर तथा भिडियो हेरेर पनि भाषा सिक्न सकिने नेपालका तर्फबाट जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले बताए।

नेपालमा सुरुवाती चरणमा इन्टरनेटको पहुँच भएका स्थानहरुमा ई–लर्निङ सेवा सुरु गरिने र नेपाल बाहिरका इन्टरनेटको पहुँच नभएका स्थानमा समेत इन्टरनेट पहुँच विस्तार गरी सेवा सुचारु गरिने ओझाको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*