बागमती प्रदेशमा ठुला लगानीका सडक र पुलको अनुगमनपछी कामले तिब्रता पाएको छ –मन्त्री दुलाल
हेटौंडा । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा नियुक्त भएपछी युवराज दुलालको सक्रियता निरन्तर छ । बिशेषगरी पूर्वाधार विकासका काममा उहाँको जोड छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयले ठेक्का लगाएर पनि वषौं देखि काम हुन नसकेका आयोजनाहरुको स्थलगत रुपमा उहाँको निरिक्षण पछी कामले तिब्रता पाएका छन् ।
बिशेषगरी मन्त्रालय मातहतका कार्यालयहरुबाट ठेक्का लगाएर पनि काम अगाडी बढ्न नसकेका ठुला लगानीका सडक र पुलको निरिक्षण मन्त्री दुलालको नेतृत्वमा भयो । रुग्ण आयोजनाहरुको अनुगमनलाई उहाँले मन्त्री नियुक्त भएलगतै देखि काम सुरु गर्नुभयो । त्यो अनुगमनपछी कामै हुन नकसेका र कामको सुरुवात गरेर अगाडी बढ्न नसकेका योजनाहरुको ठेक्का तोड्ने तयारीपछी सबैजसो योजनाहरुको कामले अहिले तिब्रता पाएको मन्त्री दुलाल वताउनुहुन्छ ।
गत माघ ११ मा मन्त्री नियुक्त भएका दुलालले यसबीचमा दर्जनौं निर्माणाधीन सडकको अवलोकन गर्नुभएको छ। प्रदेशका पहाडी जिल्लामा स्तरोन्नती र कालोपत्रे भइरहेका सडकको निरीक्षण गर्दै धमाधम आवश्यक निर्देशन पनि दिनु भएको छ ।
सिन्धुली, रामेछाप, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानवपुर, धादिङ लगायतका प्रदेशभित्रका जिल्लामा भइरहेका सडक, पुल लगायतका भौतिक निर्माणका काममा दुलालले चासो बढाउनु भएको छ । निर्माण सुरु गरेर लामो समयदेखि अलपत्र भएका योजनाहरूको निरीक्षणपछि कारबाही र निर्देशनमात्र नभई कतिपय ठाउँमा ठेक्का तोड्ने चेतावनी समेत मन्त्री दुलालले दिनुभएपछी कामले तिब्रता पाएको हो ।
समयसीमाभित्र काम नगर्ने ठेकेदार कम्पनीसँग ठेक्का तोड्नेगरी कुनै आवेगमा निर्णय नभएको मन्त्री दुलाल बताउनुहुन्छ । प्रदेशभित्रका १३ वटै जिल्लाका कार्यालय प्रमुखसहित सरोकारवाला निकाय प्रमुखसँगको छलफलपछि अनुगमन सुरु गरिएको हो।
मन्त्रालयमा मन्त्रीसहितको उपस्थितिमा प्रस्तुत भएको प्रगति विवरण सुस्त देखिएपछि विभागीय प्रमुख र कर्मचारीहरूलाई नतिजामुखी परिणाम निकाल्नसमेत मन्त्रीले निर्देशन दिनु भएको थियो ।
राजनीतिक पहुँचका आधारमा ढिलासुस्ती गरि अधुरा छाडिएका त्यस्ता योजनाहरूका बारेमा बुझ्न मन्त्री दुलाल सुरुमा हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडकखण्ड भैँसे–भिमफेदी र हुमाने फर्पिङ खण्डको अनुगमन गर्नु भएको थियो ।
लगत्तै, मकवानपुरस्थित आमभन्ज्याङ–३ र मकवानपुरगढी–७ जोड्ने निर्माणाधीन १२६ मिटर सामरी पुलको अनुगमन गर्नुभयो । त्यसपछि काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको सीमाना पर्ने तालढुंगामा पर्ने पुलको अनुगमन गरेर आवश्यक निर्देशन दिर्नु भएको थियो । त्यस्तै, सिन्धुपाल्चोकको निर्माणाधीन झ्याँडी–देउराली सडकखण्ड, सिन्धुलीको निर्माणाधीन सिन्धुली–भिमस्थान, चकमके हुँदै कटाहरी जोड्ने पक्की मोटरबाटो अनुगमन गरिएको थियो।
स्थानीयको गुनासोपछि रामेछापको मन्थली–गाइखुरे–चिसापानी जोड्ने निर्माणाधीन ७ किमि सडकको अनुगमन गर्दै आवश्यक निर्देशन समेत दिइएको थियो ।
धादिङको मनहरी–आदिमघाट मोटरबाटो अनुगमनका क्रममा गजुरी–६ स्थित राम्चे गाउँमा निर्माणाधीन सडक प्राविधिक स्टमेट अनुसार नभएको भन्दै तत्काल काम रोक्न समेत उनले निर्देशन दिनु भएको थियो ।
त्यसैगरी, मन्त्रालयको २० करोड लगानीमा निर्माणाधीन नुवाकोटको बागेश्वरी–उर्लेनी–काल्चे हुँदै माला भञ्ज्याङको ९ किलोमिटर सडकको अनुगमन भएको थियो। उक्त अनुगमनको क्रममा सुर्यगढी गाउँपालिका–३ फलाटेमा निर्माणाधीन सडक वाल प्राविधिक अनुकुल नभएको भन्दै तत्काल काम रोक्न समेत मन्त्री दुलालले निर्देशन दिनु भएको थियो ।
मन्त्री दुलालको निरन्तर अनुगमन र निर्देशनपछि अहिले ठेकेदार कम्पनीहरुले धमाधम काम अघि बढाएको भौतिक मन्त्रालयले जनाएको छ। त्यस्तै, प्रदेशका विभिन्न सडकखण्डको कालोपत्रे तथा स्तरोन्नतीका लागि कालोपत्रे गर्न ठेक्का आह्वान गरिएको छ।
सिन्धुपाल्चोकको मेलम्ची–चौतारा जोड्ने मुख्य सडक अन्तर्गत पहिलो चरणको नवलपुर मेलम्ची सडक खण्डको कालोपत्रेका लागि ठेक्का आह्वान गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अुनसार जल्केनी नसिंङ डाँडा सडक र भन्ज्याङ डडुवा रोडको स्तरोन्नतीका लागि पनि ठेक्का आह्वान भएको छ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा नियुक्त भएपछी युवराज दुलालसंगको भिडियो कुराकानी हेर्नका लागि तलको लिन्कमा क्लीक गरौ ।







