एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : अध्यक्ष ओली

जनपत्र
१० चैत्र २०७९, शुक्रबार १८:२८

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे आम चुनावमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको जिकिर गर्नुभएकाे छ ।

झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ अभियानको आज शुक्रवार आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र साथी बनेर गाउँमा जान निर्देशन दिनुभयो । ‘आउँदाे चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरु गरिएको हो’, उहाँले भन्नुभयो, ‘तपाईँहरू ग्रासरुट अभियानमा कार्यकर्ताको घरआँगनमा पुग्दा तपाईँहरूको व्यवहार मालिकजस्तो होइन, साथीजस्तो हुनुपर्छ ।’

एमालेविरुद्ध केन्द्रमा १० दलीय गठबन्धन बनाए पनि आम नागरिक एमालेकै पक्षमा रहेको ओलीकाे दाबी थियो । अभियानले आन्तरिक पार्टी जीवनको अन्तरविरोधहरूको समाधान गर्दै एमालेलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने उहाँले बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले कुनै कमी–कमजोरी भए भने आफ्नो पनि आलोचना गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । ‘मेरा पनि कमजोरी छन्, आनीबानी र व्यवहारमा कुनै पनि कमजोरी देख्नुहुन्छ भने भन्नुहोस् भनेर आमसभाबाट आह्वान गर्न सक्ने एमाले अध्यक्षमात्रै हो’, उहाँले भन्नुभयो, ‘मलाई नजिकैबाट हेर साथीहरू, कुनै दाग धब्बा देखियो भने औँल्याउँ भन्न चाहन्छु ।’

फरक प्रसङ्गमा उहाँले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हुँदा यसको विरोध गरिरहेकाहरूलाई समेत एमालेका कार्यकर्ताले सम्झाउनुपर्ने बताउनुभयो ।

गृह जिल्ला झापाको ‘मिसन ग्रासरुट’ अभियान गएकाे फागुन १० गते सुरु भएको थियो । जिल्लाका १५ पालिका र एक सय ३१ वटा वडा तहमा अभियान सञ्चालन भइरहेको एमाले झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*