आयोगले राष्ट्रपति चुनावको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाउँदै

जनपत्र
२६ फाल्गुन २०७९, शुक्रबार १२:०१

काठमाण्डाै – निर्वाचन आयोगले आज राष्ट्रपति चुनावको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउँदै छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले हिजो भएको चुनावको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो सोमवार शपथ ग्रहण गर्दै हुनुहुन्छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको पर्सि आइतवार कार्यकाल सकिने भएकाले पौडेलले सोमवार शपथ ग्रहण गरेपछि पद सम्हाल्नु हुनेछ।

नौ दलीय गठबन्धनको साथमा पौडेल हिजो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले मत दिएका थिए । यसैबीच, नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले अहिले बिहान पशुपति र गुह्वेश्वरी मन्दिरको दर्शन गर्ने हुनुभएको छ ।

बिहान पौने ९ बजे उहाँ पशुपति जाने कार्यक्रम रहेकाले त्यहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ । अहिलेको निवास काठमाण्डौको बोहोराटारदेखि चक्रपथ हुँदै उहाँ पशुपति पुग्नु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*