किन हार्‍यो नेपाल? सातौँ ओभरको त्यो ‘टर्निङ प्वाइन्ट’ : ज्ञानेन्द्रको विकेट जसपछि नेपाल सम्हालिनै सकेन

जनपत्र
१३ श्रावण २०७६, सोमबार ०६:१३

T20 विश्वकपमा खेल्नका लागि सबैभन्दा प्रमुख खुड्किलोका रुपमा रहेको सिंगापुरविरुद्धको आजको महत्त्वपूर्ण खेल किन हार्‍यो नेपालले भन्दा सजिलो उत्तर छँदैछ- रन बनाउन नसकेर। १९२ रनको लक्ष्य पूरा गर्न नसकेर। अझ अर्को सजिलो उत्तर छ- सिंगापुरको विकेट लिन नसकेर।

तर ध्यान दिएर खेल हेर्ने हो भने नेपालले सातौँ ओभरसम्म खेलमा राम्रै पकड राखेको देखिन्छ। माथि क्रिकइन्फोले बनाएको वर्म चाट हेर्नुस् त- सातौँ ओभरसम्म सिंगापुरले भन्दा राम्रै गरेको अवस्था थियो। 

तर जब सातौँ ओभरमा विजयकुमारले ज्ञानेन्द्र मल्ललाई बोल्ड गरे, खेल नेपालको पकडबाट गुम्यो। ज्ञानेन्द्रले त्यतिबेलासम्म ३ छक्का र ४ चौकासहित २१ बलमा ३९ रन बनाएका थिए।

त्यसो त ज्ञानेन्द्रभन्दा अघि कप्तान पारस पनि चौथो ओभरमै १२ रन बनाएर आउट भइसकेका थिए। तर सिंगापुरको पनि दोस्रो ओभरमै विकेट झरिसकेको थियो।

सिंगापुरको दोस्रो विकेट ११ औँ ओभरमा ९९ रन जोडिसक्दा बल्ल झरेको थियो। तर नेपालको भने ज्ञानेन्द्रको दोस्रो महत्त्वपूर्ण विकेट सातौँ ओभरमा स्कोरबोर्डमा ५४ रनमात्र बनाउँदा गुम्यो।

चार्टमा देखिन्छ, त्यसपछि नेपालको लय गुम्यो। त्यसपछि नेपाल सम्हालिनै सकेन। एक त ठूलो स्कोर पछ्याउनु पर्ने दबाब, त्यसमाथि धमाधम विकेटको पतन। ज्ञानेन्द्रको विकेट पतन नै यो खेलको टर्निङ प्वाइन्ट बनेको यो चार्टले देखिन्छ।

ज्ञानेन्द्रको विकेट गुमिसकेपछि तेस्रो विकेटका लागि बलियो साझेदारी भएको भए नेपालको केही आशा रहन्थ्यो होला। तर मिस्टर रिलायबल भनिने शरद् भेषावकर पनि आठौँ ओभरमा मात्र सात रन बनाएर आउट भइदिए। विकेट पतन नियमित हुन पुग्यो। नवौँ ओभरमा रोहित पौडेल पनि आउट भए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*