गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला: चितवनका बासिन्दामा उत्साह, दुई दिनमै जुट्यो ८० लाख
दुई महिनासम्म निर्माणको काम रोकिएकाे निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फेरि सुरु गरिएको दुई दिनमा ८१ लाख ६१ हजार एक सय १० रुपैयाँ सहयोग प्राप्त भएको छ ।
उद्योग वाणिज्य संघ चितवनले क्रिकेट रंगशालालाई ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । संघका अध्यक्ष सहनलाल प्रधानले रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
यसैगरी पूर्वेली समाजले संस्थागत रुपमा ५ लाख, पूर्वेली समाजकै सदस्य कुमार डाँगीले ५ लाख, भरतपुर महानगरपालिका-१२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले १ लाख ३५ हजार, घिमिरे ब्रर्दश एण्ड सप्लार्यसका शिव घिमिरेले १ लाख ५ हजार सहयोग गरेका छन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.तिलचन्द्र भट्टराई र उहाँकी धर्मपत्नी प्रा.डा. शारदा थपलियाले निर्माणाधीन क्रिकेट रंगशाला निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गर्नुभएकाे छ।यसैगरी जिल्ला क्रिकेट संघ चितवनको तर्फबाट दुई लाख ५ हजार ५५५ रुपैयाँ सहयोग भएको छ ।
भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पूरा गर्न सहज वातावरण बनेको भन्दै दुई महिनादेखि रोकिएको काम फाउण्डेशनले फेरि सुरु गरिसकेको छ । बन्द भएको फिल्ड कार्यालय खोलेर रंगशालाको फिल्डमा गर्न मिल्ने जति काम गर्न सुरु गरिएकाे हाे ।







