‘ह्यारी कि प्यारी’ गीत : रेखाको ठुम्काले धरहरा हल्लियो (भिडियो)
फिल्म निर्माता तथा गीतकार डा. भोला रिजालका छोरा डा. कपिल रिजालद्वारा निर्देशित डेब्यू फिल्म ‘ह्यारी कि प्यारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘धरहरा हल्लियो’ बोलको गीतमा अभिनेत्री रेखा थापाले ठुम्का लगाएकी छन् । उनलाई फिल्मका दुई मुख्य कलाकार जितु नेपाल र विजय बरालले नृत्यमा साथ दिएका छन् । कविराज गहतराजले गीतमा कोरियोग्राफी गरेका हुन् ।
मिना पोखरेल र सपन कुमार राईको गायन रहेको गीतमा शिखर सन्तोषको संगीत र डा। भोला रिजालको शब्द रचना छ । गीतको अडियो पक्ष बलियो छ । तर, गीतको लयअनुसार भिडियोमा कोरियोग्राफी बग्न सकेको छैन । बिहीबार काठमाडौंमा आयोजित गीत सार्वजनिक कार्यक्रममा रेखाले छायांकनको बेला हदै जाडो भएकाले नृत्यमा भएको कमजोरीको दोष आफूले लिने बताइन् ।
बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा रेखा थापा गीतमा मात्र देखिनेछिन् । जितु र विजयको अलावा फिल्ममा साम्राज्ञी आरएल शाहको पनि मुख्य भूमिकामा छ । लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको फिल्मको प्रस्तुतकर्ता रिजाल स्वयं हुन् । उनी पेशाले दन्त चिकित्सक हुन् ।
फिल्ममा निर्देशक रिजाल स्वयंको कथा, सुदीप बराल, गिरीराज घिमिरे, डा। रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा तथा संवाद लेखेका हुन् भने सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा गरिएको हो । आगामी माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म पारिवारिक कथामा निर्माण भएको निर्देशक रिजालको भनाई छ ।