रोमाञ्चक फाइनलमा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचाल्यो

निर्धारित ५० ओभरको खेलमा बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ । इंग्ल्याण्डले सुपर ओभर र निर्धारित ५० ओभरमा २२ चौका र २ छक्का प्रहार गरेको थियो भने न्यूजिल्याण्डले १४ चौका र २ छक्का प्रहार गरेको थियो । निर्धारित ५० ओभर र सुपर ओभर पनि बराबरी भएपछि बढी बाउण्ड्री हानेका आधारमा इंग्ल्याण्ड विश्वविजेता बनेको हो ।
न्यूजिल्याण्डले दिएको २४२ रन पछ्याउने क्रममा इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४१ रन बनाएपछि खेल टाइ भएको थियो । सुपर ओभरमा इंग्ल्याण्डले पहिले ब्याटिङ गरेर १५ रन बनायो । सुपर ओभरमा इंग्ल्याण्डका लागि जस बटलर र बेन स्टोक्सले ब्याटिङ गरे । न्यूजिल्याण्डका लागि भने ट्रेन्ट बोल्टले बलिङ गरे ।
सुपर ओभरमा न्यूजिल्याडलाई जितका लागि १६ रन चाहिएको थियो । न्यूजिल्याण्डका लागि जेम्स निशाम र मार्टिन गप्टिलले ब्याटिङ गरे । जोफ्रा आर्चरले पहिलो बल वाइड फाले । त्यसपछि निशामले दुई रन लिए । त्यस्तै दोस्रो बलमा उनले छक्का हाने । तेस्रो र चौथो बलमा २–२ रन लिए । पाँचौँ बलमा निशामले एक रन लिए । अन्तिम बलमा गप्टिल रनआउट हुन पुगे र रोमाञ्चक खेल इंग्ल्याण्डले बढी बाउण्ड्री हानेका आधारमा जित्न पुग्यो ।
सुपर ओभरमा न्यूजिल्याण्डले १५ रन नै बनाएको थियो । तर इंग्ल्याण्डले बढी बाउण्ड्री हानेका कारण च्याम्पियन बन्यो । न्यूजिल्याण्ड अभागी टिम ठहरियो । निर्धारित ५० ओभरको खेलमा ट्रेन्ट बोल्टले दुई विकेट लिए पनि स्टोक्सले दुई छक्का प्रहार गरेर खेललाई सुपर ओभरमा लगेका थिए । इंग्ल्याण्डका ओपनर ब्याट्सम्यान जेसन रोय र जोनी बेयरस्टोले गतिलो सुरुवात गर्न सकेनन् । रोय २० बलमा १७ रन बनाएर आउट भए । त्यस्तै ५५ बलको सामना गरेका बेयरस्टोले मात्रै ३६ रन बनाएर आउट भए ।