रंगशाला निर्माणमा फर्किए धुर्मुस सुन्तली

जनपत्र
२६ असार २०७६, बिहीबार १६:२५

केही समयदेखि चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम स्थगित गरेको धुर्मुस सुन्तली फाउन्डेसन काममा फर्किएको छ । चितवन जिल्ला स्तरीय सर्वपक्षीय समितिले काममा फर्किन आह्वान गरेपछि फाउन्डेन काममा फर्किएको हो । फाउन्डेसनका तर्फबाट अध्यक्ष सीताराम कट्टेल धुर्मुसले विज्ञप्ति जारी गरी परियोजना सुचारु गर्न चितवन जिल्लास्तरी मूल सहयोग समितिको बैठकले आह्वान गरेकाले काम निरन्तरता दिने निर्णय गरेको बताए ।

‘परियोजना सुचारु गर्न चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समितिको बैठकले रंगशाला निर्माणका लागि पटक पटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता व्यक्त भएपश्चात हामीले रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौं’ विज्ञप्तिमा भनिएको छ ।

स्थानीयको एक समूहले जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेको थियो । त्यसपछि स्थानीयसँग सहमति भई भत्काइएको बार पनि स्थानीयकै प्रयासमा उठाइएको छ । जिल्ला स्तरीय सर्वपक्षीय समितिले रंगशाला निर्माणका लागि रकम जुटाउने, अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको र काममा फर्कन आह्वान गरेकाले आफूहरु विश्वस्त भएको धुर्मुस सुन्तली फाउन्डेसनले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*