यी खेलाडी ट्रम्पले बोलाएपनि ह्वाइट हाउस जान चाहन्नन्

कुनै देशका खेलाडीलाई त्यस देशका राष्ट्रपतिले भेट्न चाहे भने त्यो भेटका लागि त्यति धेरै समय लाग्दैन । त्यसमाथि पनि देशको गौरव बढाउने खेलाडीलाई देशकै सर्वोच्च पदमा रहेका व्यक्तिले भेट गर्ने भन्ने कुरा आफैंमा राम्रो कुरा हो । देशको राष्ट्रपतिले नै खेलाडीहरु भेट्न चाहेमा भेट नहुने कुरै छैन । तर राष्ट्रपतिले चाहेर पनि खेलाडी नै राष्ट्रपति भवन जान नचाहेको चाहिँ कमै मात्र सुन्न पाइन्छ ।
तर अमेरिकाकी एक यस्ती खेलाडी छन्, उनी अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस जान चाँहदिनन् । महिला विश्वकप फुटबलको फाइनलमा अमेरिकाले नेदरल्यान्डलाई २–० ले हराएर उपाधि जित्यो । अमेरिकाले विश्वकपको उपाधि जितेको यो चौथो पटक हो । यो जितलगत्तै अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गरे र बधाई दिए । ट्रम्पले लेखे, ‘अमेरिकी महिला फुटबल टोलीलाई विश्वकपको उपाधि जितेकोमा बधाई । धेरै राम्रो खेल प्रदर्शन गर्दैै जित हासिल गरेकोमा सबैप्रति गर्व लागेको छ ।’
आलोचकले त विश्वकपको उपाधि विजेता टोलीलाई बधाई दिन एक घन्टा समय लगाएको भन्दै आलोचना समेत गरिसकेका छन् । यसअघि पनि ट्रम्प र अमेरिकी महिला फुटबल टिमकी उपकप्तान मेगन रापिनोबीच विवाद भइसकेको छ । मेगन समलिंगी हुन् । उनले ट्रम्प प्रशासनको रबैया, एलजीबीटी समुदाय र महिलाप्रति उनको नीतिलाई लिएर आपत्ति जनाएकी थिइन् । उनले यसअघि नै सोही विषयलाई लिएर आफ्नो टिमले विश्वकप जितेमा ह्वाइट हाउसमा बोलाए पनि नआउने घोषणा गरेकी थिइन् ।
ट्रम्पले यसमाथि आफ्नो प्रतिक्रिया दिँदै ट्विट गरेका थिए, ‘टिमले जितोस् या हारोस्, हाम्रो निमन्त्रणा छ । मेगनले देश, ह्वाइट हाउस वा देशको झण्डाको अपमान गर्नु हुँदैन । जब उनी र टिमका लागि धेरै गरिएको छ । जुन झण्डा ओडेको छ । त्यसमा गर्व गर्नुपर्छ । अमेरिका राम्रो गरिरहेको छ ।’ मेगनले ट्रम्पका विषयमा भनेको कुरा पनि संसारभरी चर्चामा आएको छ ।
बेलायती सांसद एमिली थर्नबेरीले बधाई दिएकी छन् र ट्रम्पमाथि निशाना साँध्दै लेखेकी छन्, ‘नेदरल्यान्डलाई उसको शानदार प्रदर्शनका लागि बधाई । तर मलाई यसमा खुसी लागेको छ कि अमेरिका र मेगन रापिनोले प्राइड विकेन्डमा जित हासिल गरेको छ ।’