महिला विश्वकपको उपाधि अमेरिकालाई

जनपत्र
२३ असार २०७६, सोमबार ०७:०३

नेदरल्याण्डमाथि रोमान्चक जित निकाल्दै अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि जितेको छ । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाले नेदरल्याण्डमाथि २–० को नतिजासहित उपाधि जितेको हो । योसँगै अमेरीकाले महिला विश्वकपमा सर्वाधिक चौथो पटक उपाधि आफनो नाममा लेखाएको छ । यसअघि क्यानडामा भएको सातौं संस्करणको विश्वकपमा पनि अमेरिका च्याम्पियन बनेको थियो । फ्रान्सस्थित लियोन ओलम्पिक स्टेडियममा भएको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा अमेरिका गोल गर्न सफल भएको हो । अमेरीकाको उपाधि जितमा मेगन रापिनो र रोज रावेलोले गोल गरीन् ।

६१ औं मिनेटमा पेनाल्टी गोलमार्फत अमेरिकाले अग्रता लिएको थियो । नेदरल्याण्डका खेलाडीको गल्तीमा पाएको पेनाल्टी मेगनले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । लगत्तै ८ मिनेटपछि अमेरिकाले अग्रता २–० मा पुर्‍यायो । मेवइसको पासमा रोजले अमेरीकाको अग्रता दोब्बर बनाएकी थिइन् । बाँकी समय डच टिम नेदरल्याण्ड खेलमा फर्किन नसक्दा अमेरिका चौथो पटक उपाधि जित्न सफल भएको हो  । पहिलो पटक फाइनल पुगेको नेदरल्याण्ड दोस्रो हाफमा सम्हालिन नसक्दा उपविजेतामा सिमित भयो ।

अमेरीकाले इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । नेदरल्यान्डले सेमिफाइनलमा स्वीडेनमाथि १–० को रोमाञ्चक जित निकाल्दै अमेरिकासँगको भेट पक्का गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*