किन शुक्रवार रिलिज नहुने भयो ‘प्रेमगीत ३’को हिन्दी डब ?
दुई हप्तादेखि एकपछि अर्को विवादमा झेलिएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी डब शुक्रवारबाट नेपालमा प्रदर्शन नहुने भएको छ । बिहीवार निर्माण कम्पनी आशुसेन फिल्मस्ले एक सूचना जारी गर्दै विभिन्न प्राविधिक कारणले फिल्म सोमवार घटस्थापनाबाट मात्र रिलिज हुने जानकारी गराएको छ । शुक्रवारबाट फिल्मलाई रिलिज गर्न नसक्ने स्थिति सृजना गराइएको पनि सूचनामा उल्लेख छ ।
निर्माण टिमले प्राविधिक कारण भन्दै घटस्थापनाबाट मात्र फिल्मको हिन्दी डब नेपालमा प्रदर्शन हुने जानकारी गराए पनि यथार्थमा निर्माण कम्पनी आशुसेन फिल्मस्ले कर चुक्ताको प्रमाणपत्र पेश गर्न नसकेका कारण चलचित्र विकास बोर्डले सेन्सर सिफारिस रोकेपछि फिल्म शुक्रवारबाट प्रदर्शनमा आउन नसकेको हो । निर्माण कम्पनीले केही वर्षदेखि कर चुक्ता नगरेको बुझिएको छ ।
नेपाली भर्सनको बेला निर्माण टिमले पछि कर चुक्ताको प्रमाणपत्र पेश गर्ने सर्तमा बोर्डबाट सेन्सर सिफारिस लिएको थियो । तर, हिन्दी डबका लागि पनि निर्माण कम्पनीले कर चुक्ताको प्रमाणपत्र पेश नगरेपछि बोर्डले फिल्मको सेन्सर सिफारिस रोकेको हो । फिल्मको हिन्दी डब घटस्थापनाबाट प्रदर्शनमा आउने भएपनि नेपाली भर्सन भने शुक्रवारबाट नै देशव्यापी प्रदर्शनमा आउनेछ ।
.jpg)
साथै, ‘प्रेमगीत ३’को हिन्दी डबलाई बोर्डले विदेशी फिल्म मान्दै १५ प्रतिशत विकास शुल्क तिर्नुपर्ने नियम लगाएकोमा सूचना तथा सञ्चार मन्त्रालयले भने हिन्दी डबलाई पनि नेपाली फिल्म मानेको छ । नेपाली कम्पनीको निर्माण, नेपाली कलाकारको अभिनय र नेपालमा खिचिएकाले विदेशी फिल्म मान्ने आधार नदेखिएपछि मन्त्रालयले १५ प्रतिशत विकास शुल्क तिर्नु नपर्ने निर्णय गरेको हो ।






