रेफ्री कुट्ने एपिएफका सहायक व्यवस्थापक पाण्डेलाई आठ खेलको प्रतिबन्ध

एन्फाको अनुशासन कमिटीले फोर्थ रेफ्री मोक्तानमाथि हातपात गर्ने एपिएफ क्लबका सहायक व्यवस्थापक जीवेशकुमार पाण्डेलाई आठ खेलमा प्रतिबन्धसँगै १० हजार रुपैयाँ जरिवाना तिराएको छ
जनपत्र
१२ बैशाख २०८०, मंगलवार ०७:४४

अखिल नेपाल फुटबल संघ (एन्फा)ले रेफ्रीमाथि हातपात गर्ने सशस्त्र प्रहरी बल एपिएफका सहायक व्यवस्थापक जीवेशकुमार पाण्डेलाई आठ खेलमा प्रतिबन्ध लगाएको छ । एन्फाको अनुशासन कमिटीले सोमबार राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडीसमेत रहेका पाण्डेलाई प्रतिबन्धसँगै १० हजार जरिवाना तिराएको छ ।

६ वैशाखमा दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत एपिएफ र मच्छिन्द्र फुटबल क्लबबीच भएको प्रतिस्पर्धामा पाण्डेले फोर्थ अफिसियल ज्ञानबहादुर मोक्तानलाई टनलभित्र जाने क्रममा टाउकोमा मुक्का प्रहार गरेका थिए । सो खेलमा एपिएफले मच्छिन्द्रमाथि १–० को जित निकालेको थियो ।

प्रतिस्पर्धाका दौरान खेलका मुख्य रेफ्रीले मच्छिन्द्रका खेलाडीलाई रातो कार्ड नदिएको जनाउँदै पाण्डेले फिल्डमा रहेका रेफ्रीहरूलाई अपशब्द प्रयोग गरेका थिए । तत्कालै फिफा रेफ्री प्रज्वल क्षेत्रीले पाण्डेलाई सीधै रातो कार्ड देखाएका थिए । रातो कार्ड पाए पनि पाण्डेले टच लाइन छाडेनन् । फुटबलमा रातो कार्ड पाएका जोकोही पनि प्यारापिटमा जानुपर्छ । सो व्यक्ति मैदानमा बस्न पाइँदैन । तर, पाण्डेले फिफाको नियम पालना गरेनन् । ‘फिफाको अनुशासन आचारसंहिताको च्याप्टर २ को दफा १ एलबमोजिम शारीरिक हातपात गरेकाले पाण्डेलाई आठ खेलको प्रतिबन्ध र १० हजार जरिवाना गरिन्छ,’ एन्फाले भनेको छ ।

चार क्लबलाई जरिवाना 
एन्फाले जारी लिगमा सहभागी एपिएफसँगै साबिक दुईपटकको लिग विजेता मच्छिन्द्र, नवप्रवेशी खुमलटार र संकटा क्लबलाई जरिवाना गरेको छ । लिगका दौरान विभिन्न नियम भंग गरेको र तोडफोडमा सहभागी क्लबविरुद्ध एन्फाले कारबाही गरेको हो । एन्फाले संकटा, खुमलटार र मच्छिन्द्रलाई समान १० हजार तथा एपिएफलाई पाँच हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

एपिएफविरुद्ध संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापाको जर्सी विवादपछि खेल आधा घन्टा ढिला सुरु भएको थियो । टिकेन्द्रको जर्सी जुधेपछि खेल ढिला हुन पुगेको ठहर एन्फाले गरेको छ । जर्सी एकै भएपछि टिकेन्द्रले टिसर्ट लगाएर खेलेका थिए । सोही खेलको दोस्रो हाफमा पाँच मिनेट अवरुद्ध गरेपछि एपिएफलाई ५ हजार जरिवाना सुनाइएको छ । मोजा विवादका कारण दोस्रो हाफ ढिला सुरु भएको थियो । खेल ढिला गर्नुमा समेत सहायक व्यवस्थापक पाण्डेकै हात रहेको एन्फाले ठहर गरेको छ ।

मच्छिन्द्रविरुद्ध ७–३ को हारपछि खुमलटारका खेलाडी र अफिसियलले डे«सिङ रुमको कुर्सी भाँचेका थिए । च्यासल मैदानमा खुमलटारविरुद्ध मच्छिन्द्रका आफिज ओलावाले ओलादिपोले ह्याट्रिक गरेका थिए । त्यस्तै, मच्छिन्द्रलाई रेफ्रीमाथि हातपात गरेको भन्दै जरिवाना तिराइएको हो । दशरथ रंगशालामा न्युरोड टिम एनआरटीविरुद्ध १–१ गोलको बराबरी खेल्दा मच्छिन्द्रका पदाधिकारी र खेलाडीले रेफ्रीमाथि हातपातको कोसिस गरेका थिए । यस खेलमा आफिजले रातो कार्ड सामना गरेका थिए ।

एपिएफमा विदेशी खेलाडीको प्रभाव
विदेशी खेलाडीको प्रभावसँगै एपिएफले खुमलटारविरुद्ध २–० ले जित निकालेको छ । लिगअन्तर्गत सोमबार एन्फा मैदानमा एपिएफलाई जित दिलाउन दुवै गोल विदेशी खेलाडीले गरेका थिए । क्यामरुनका रमानी पौटोग्नी र अर्मान्ड बेओडमले मध्यान्तरपछि एक–एक गोल गरेका हुन् । पाँचौँ जितपछि ११ खेलमा १७ अंक जोडेको एपिएफ पाँचौँ स्थानमा उक्लिएको छ । सात खेलमा पराजित खुमलटार १३ अंकसहित ११औँ स्थानमा छ ।

खेलको २६औँ मिनेटमा रमानीको गोलमा एपिएफले अग्रता लियो । बुद्धिमान राईले मिलाएको सुन्दर पासमा रमानीले बक्सभित्रबाट फिनिसिङ गरे । पहिलो हाफमा एक गोलले अग्रता बनाएपछि एपिएफ दोस्रो हाफमा थप हौसियो । खेलको ७०औँ मिनेटमा अर्मान्डले दोस्रो गोल गरे । आफ्नो पोसेसनभन्दा बाहिर आएका खुमलटारका गोलरक्षक राजकुमार लिम्बूको गल्तीमा अर्मान्डले खाली पोस्टमा गोल गरेका हुन् । मंगलबार दशरथ रंगशालामा दुई तथा एन्फा मैदानमा एक खेल हुनेछ । मनाङ मस्र्याङ्दीले नेपाल पुलिसको सामना गर्नेछ ।

सर्वाधिक आठपटकको विजेता मनाङ खराब लयबाट गुज्रिरहेको छ । मनाङ लगातार चार खेलमा पराजित भइसकेको छ । लगातार चौथो हारसँगै मनाङको उपाधि जित्ने लक्ष्यमाथि धक्का लागेको छ । अर्को खेल फ्रेन्ड्स र एनआरटीबीच हुनेछ । यसैगरी, आर्मी र चर्च ब्वाइजबीच अन्तिम खेल हुने तालिका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*