मनहरी गाउँपालिकाको बजेट ६२ करोड ४२ लाख

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आउँदो आर्थिक बर्षका लागि कुल ६२ करोड ४२ लाख रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । आज प्रस्तुत गरिने मनहरी गाउँपालिकाको गाउँ सभामा ६२ करोड रुपैयाँ भन्दा बडीको बजेट ल्याउन लागिएको हो ।
मनहरी गाउँपालिकाले पछाडी पारिएका समुदायलाई खरको छानो मुक्त बनाउने भएको छ । दलित, एकल महिला, द्वन्द पीडित, पिछडिएको बर्गलाई ध्यानमा राखेर खरको छानो मुक्त गाउँपालिका बनाउने योजना ल्याइएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । गाउँपालिका अध्यक्ष आवास कार्यक्रम अन्तरगत यो कार्यक्रम ल्याउन लागिएको हो ।
यसैगरी गाउँपालिकाले आउँदो आर्थिक बर्षको बजेटमा उपचार बाट बन्चित भएका दलित, द्वन्द पीडित, अती गरिव परिवारका ३ सय जनालाई गाउँपालिका आफैले स्वास्थ्य बिमा गरिदिने कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । यो कार्यक्रमबाट कोही पनि उपचार नपाएर अकालमा मृत्यु हुने समस्या हट्ने छ ।
मनहरी गाउँपालिकाले प्रदेश ३ सरकारले जस्तै गरी मनहरी ७ रमौलीका १४ परिवार बाटे समुदायलाई लक्षित गरेर एकिकृत बस्ति निर्माण गर्ने तयारी गरेको छ । एकिकृत बस्ति निर्माणका लागि बजेट पनि छुट्याएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
मनहरी गाउँपालिकाले किसानहरुलाई दुध उत्पादनमा उत्साहित गर्ने उदेस्यले प्रति लिटर दुधमा एक रुपैयाँ अनुदान दिने भएको छ । किसानको दुध उत्पादन लागत अनुसार मुल्य नपाएकाले उनीहरुलाई सहयोग गर्ने उदेस्यले यो कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । ब्यावसायीक गाई भैसी पालनमा जोड दिने उदेस्यले यो कार्यक्रम ल्याइएको हो ।
गाउँपालिकाले चालु आर्थिक बर्षका भौतिक पुर्बाधारका योजना, कृर्षि, पशुपालन, खानेपानी, सिंचाई लगायतका काममा प्राथमिकता दिइएको छ । कृषिमा मनहरी गाउँपालिकाले आधुनिकिकरण गर्नका लागि बजेट छुट्याएको छ ।